काबुल– अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ०८ बजेतिर सो विस्फोट भएको जनाइएको छ ।
यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए ।
गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो ।
यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्स तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारका काम थालेका छन्– एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताएको हो ।
हालैका हप्तामा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भएता पनि कैयाँ प्रान्तमा हिंसा जारी रहेको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ०७:४२