काठमाडौं (प्रस)– नेपालस्थित साउदी अरेबियाको दूतावासले भिएफएस प्रणालीबाट भिसा दिने तयारी भइरहेको बताएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ प्रतिनिधिमण्डलसँगको भेटवार्तामा नेपालका लागि साउदी राजदूत साद अबुहमिदले निकट भविष्यमा नै साउदी सरकारले भिएफएस प्रणालीबाट भिसा दिने तयारी गरिरहेको आशय व्यक्त गरेको बताइएको छ ।
साउदीमा नेपाली कामदार पठाउने व्यवसायीहरुको इञ्जाजित ब्लक भएको र आइडी कार्ड खोसिएको सम्बन्धमा छलफलका लागि संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग राजदूत अबुहमिदले भिएफएस प्रणालीबाट भिसा प्रोसेसिङ हुने आशा व्यक्त गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
प्रतिनिधिमण्डलमा संघका अध्यक्ष भण्डारी, महासचिव भुर्तेल र सदस्य तथा साउदी अरब मामिला प्रमुख वैकुण्ठ पौडेल रहेका थिए । हाल साउदीमा कामदार पठाउन भएका कठिनाइ तथा दूतावासले दिनुपर्ने सेवा सुविधाका विषयमा गम्भीर छलफल भएको भुर्तेलले बताए ।
छलफलपश्चात् इञ्जाजित ब्लक भएका र आइडी कार्ड खोसिएका व्यवसायीहरुलाई आफ्नो पालोअनुसार आवश्यक कागजातसहित दूतावासको कन्सुलर शाखामा सम्पर्क गर्न संघले आग्रह गरेको छ । त्यस्तै नयाँ आइडी कार्ड लिन चाहने व्यवसायीको हकमा साउदी रोजगारदाता कम्पनीबाट प्राप्त भएका मागपत्रको सक्कल प्रतिसहित दूतावासको कन्सुलर शाखाबाट माग भएबमोजिम आवश्यक कागजातको साथमा सम्पर्क गर्नुपर्ने संघले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ११:०८