नक्कली भुटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत उच्च अधिकारीहरु मुछिएका छन् । यही प्रकरणको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखिएको छ । त्यस्तै बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको यो प्रकरणलाई धेरैले ठगी र भ्रष्टाचार भनिरहेका छन् । तर, यसलाई भ्रष्टाचार वा ठगीका रुपमा हेरिनु हुँदैन । भ्रष्टाचार मात्र होइन । यो त संगठितरुपमा गरिएको गम्भीर अपराध हो ।
यस्ता अपराध पद र शक्तिमा रहेका उच्च अधिकारीहरुको मिलेमतोमा मात्र सम्भव हुन्छ । भुटानी शरणार्थी प्रकरणलाई भ्रष्टाचार वा ठगीको रुप दिएर अपराधमा संलग्नहरुलाई जोगाउने बाटो तय गर्न खोजेको देखिन्छ । आफ्नो देशका नागरिकलाई नक्कली विदेशी नागरिक त्यसमा पनि शरणार्थी बनाउनु कुनै किसिमले पनि ठगी वा भ्रष्टाचार हुँदै होइन ।
यो त शक्तिको आडमा सामूहिक रुपले गैरकानुनीरुपमा गरिएको संगठित अपराध हो । संयुक्त राष्ट्रसंघीय महासन्धीले समेत तीन वा तीनभन्दा बढी व्यक्तिहरुको संरचनागत समूहबाट आर्थिक वा अन्य कुनै लाभका लागि गरिने गम्भीर प्रकृतिको अपराधलाई संगठित अपराध भनि परिभाषित गरेको अवस्थामा नक्कली भुटान शरणार्थी प्रकरण कसरी ठगी हुन सक्छ ?
नेपालको संगठित अपराध निवारण ऐन, २०७० ले समेत तीन जना वा सो भन्दा बढी मिलेर गरेको कसूरलाई संगठित अपराध मानेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपालमा मौलाउँदै गएको संगठित अपराधको जालोको एउटा उदाहरण मात्र हो । यस्तो धेरै अपराधहरु मौलाउँदै गएको छ । जसले नेपालको शासन प्रणालीलाई नै चुनौती दिइरहेको देखिन्छ ।
उपप्रधान तथा गृहमन्त्रीको पद सम्हालिसकेको व्यक्ति, सचिवजस्तो उच्च पदमा रहेको व्यक्ति र तीनका नातेदारहरुलाई संलग्न गराएर सक्कली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने कार्य भएको छ । यसलाई सहज वा नरमरुपमा लिइनु हुँदैन ।
यस्ता संगठित अपराध रोक्नका लागि नै सरकारले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ मा संगठित अपराध गर्न नहुने भनिएको भए पनि अहिले जुन कर्म गरिएको देखिएको छ । त्यसलाई संगठित अपराधमै पर्ने गरी संलग्न व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउन जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ११:५७