जे भनिए पनि एमसिसी कुनै पनि मूल्य र मान्यतामा गलत छ । हुन त यसलाई अनुदान भनी प्रचार गरिएको छ । चाहे अनुदान होस् या ऋण, विदेशी सहायतालाई स्विकार्ने संस्कार अब बन्द गरिनुपर्छ । एमसिसी नेपालले स्वीकृत गरे पनि यसको प्रत्यक्ष फाइदा सोही अमेरिका, सरकार र सरकारमा बस्नेको आसेपासेहरूले लिने छन् । गरिब जनताको घर दैलोसम्म नपुग्ने सहयोग नेपालले स्वीकार गर्नु गलत हुनेछ । नेपालको विकास गर्न नेपाली जनताले तिरेको कर नै काफी छ । तर, कर्मचारी र सरकार इमानदार हुनुपर्याे । प्रधानमन्त्रीले झन्डै सयजना आसेपासे लिएर हिँड्ने, मन्त्रीले पचासौँ जनालाई लिएर हिँड्ने, पैदल जान सकिने स्थानमा गाडी र गाडीमा जान सकिने स्थानमा हेलिकोप्टर प्रयोग भइरहेको छ । यो सबै खर्च राज्यले बेहोर्नु परेको छ । जनताले तिरेको करलाई सरकार, नेता र कर्मचारीको मोजमस्ती र अनियमिततमा खर्च गर्ने अनि विकासका नाममा भने दातृ निकायको मुख ताक्नुपर्ने ?
हुन त एमसिसी परियोजनामा आएको रकम फिर्ता गर्नुपर्दैन भनिएको छ । तर, जस्को खायो, उसको जयजयकार त गर्नैपर्छ होला । यो त प्राकृतिक नियम नै हो । अमेरिकाले सित्तैमा नेपालमा लगानी गरेको छैन । उसको कुनै पनि स्वार्थ हुन सक्छ । त्यसमाथि यो परियोजनामार्फत पैसा भित्रिनका लागि भारतले स्वीकृत दिनैपर्छ । नेपालमा आउने सहयोगका लागि भारतको खाँचे किन ? यो परियोजना अनुदान भएकाले मात्र होइन, अब सरकारले सहायता लिने काम बन्द गर्नुपर्छ । जनताले तिरेको करबाट नै मुलुकको विकास विस्तारै गर्न सकिन्छ । पैसा आउने आसामा दातृ निकायले दिएको अनुदान स्वीकार गर्ने प्रवृत्ति नेपालले त्याग्नुपर्छ । आफूले संकलन गरेको राजस्वले मुलुकको विकास हुन्छ नै । आफूले संकलन गरेको राजस्वले पुग्दैन भने अरु मुलुकबाट मागेर ल्याएको सहायताले विकास गर्नु परनिर्भताभन्दा अरु केही होइन ।
नेपालीको स्वभिमानका लागि पनि नेपालले सहयोग अस्विकार गरेर आफ्नो इज्जत राख्न सक्नुपथ्र्यो । मागेर मुलुक सञ्चालन गर्ने होइन । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगरेर मेरो नेपाल म आफैँ बनाउँछु भनेर भन्न सक्नुपर्छ । अरुको मागेको जदौरीले आङ टाल्नु कुनै सान होइन । यो त झन् गरिबपन हो । अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिइरहेको छ । यस्तो बेला एमसिसी अनुमोदन गर्नु भनेको मुलुकले आफ्नोपन हराउनु वा गुमाउनु हो । राष्ट्रियताको सवालमा नेताहरू अत्यन्तै कमजोर देखिँदै आएका छन् । केही पैसा आउँछ भन्ने सुन्नेबित्तिकै सबै इमान र जमान बिर्सनेहरू मुलुक सञ्चलनको तहमा पुग्दा यस्तो भएको हो । एमसिसी गलत होला नहोला, यो आफ्नो ठाउँमा छ तर एमसिसी कुनै पनि मूल्य र मान्यतामा नेपालको पक्षमा भने छैन । सत्तारुढ दलले एमसिसीबारे बुझ्न गठन गरेको कार्यदलले समयमा काम नसक्ने भएको बताइएपछि यहाँ कुनै न कुनै साजिस छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ०८:०७