‘मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु’ गृह प्रशासनको मुख्य उद्देश्य भएको गृह मन्त्रालयको परिचयमा उल्लेख छ । गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय तथा सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायतका निकायहरु केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील रहेका छन् ।
यसले देखाउँछ देशभरको सूचनामा मात्र हैन देशको राष्ट्रप्रमुखदेखि प्रधानमन्त्रीको भान्सासम्म प्रहरीको पहुँच हुन्छ । नेपालको प्रचलित संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानवअधिकारलगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण हो । यही विधिको शासन कायम गर्ने देशकै मुख्य निकायमा भने पछिल्लोपटक विवादित पात्रहरुको रजगज देखिन थालेको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा हिरासतमा पुगेका छन् । खाण यस घटनामा संलग्न छन् कि छैनन् भन्ने विषयमा पुष्टि हुन बाँकी छ तर प्रहरीको प्रारम्भिक वयानमा गृहका तत्कालीन सचिव टेकनारायण पाण्डेले खाणको नाम पोलिसकेका छन् । पाण्डे पनि अहिले अनुसन्धानका क्रममा हिरासतमा छन् । यसअघिका गृहमन्त्री रवि लामिछाने नागरिकता पुनःप्राप्तिमा चुकेका कारण चितवन–२ मा दोहोरिएर चुनाव लड्नुपर्यो ।
नेकपा सरकारको समयमा गृहमन्त्री रामबहादुर थापा थिए । उनको पालामा फेक इन्काउन्टरदेखि ३३ किलो सुनसम्मका विवादित काण्ड बाहिरियो । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सरकारले कुनै किनारा लगाउन सकेन थापा नेतृत्वले । नक्कली शरणार्थी प्रकरणमा थप पुराना गृहमन्त्रीहरु तानिने चर्चासमेत चल्न थालेको छ । यसबाट बुझ्न सकिन्छ, गृहमा कर्मचारीमात्र हैनन् राजनीतिक नेतृत्व पनि कति भ्रष्ट छन् भन्ने प्रस्ट हुन्छ ।
चुनावताका आफ्नो पार्टीको पक्षमा मत पार्न गृहको नेतृत्व लिने दाउ ठूला दलको हुन्छ । यसले झनै प्रस्टिन्छ शक्तिको दुरुपयोग कति हुन्छ भनेर । ‘आफ्नै हात जगन्नाथ’ यही पुरानै मन्त्र जपेर शक्तिको दुरुपयोग गर्ने गृहमन्त्रीहरु चुनावी मैदानमा पछारिएको तरोताज छ । त्यसैले नीति नियमलाई तिलाञ्जली दिएर शक्तिको मादमा रजगज गर्न विवादित पात्र गृहमा नपसेकै राम्रो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १०:५२