पोखरा–रूपा गाउँपालिका–२, कास्कीस्थित शिवालय माविमा पढाइ प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका कक्षा १, २ र ३ का विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा ३ ओटै कक्षाका उत्कृष्ट पठन सीप भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । फिडर विद्यालयका रूपमा रहेको कुलेश्वर आधारभूत विद्यालयको समेत सहभागिता रहेको प्रतियोगितामा कक्षा १ बाट पूजा थापा, सञ्जोग भुसाल र कुशल सुवेदी, कक्षा २ बाट सलिना सुनाम, सुगम आले र अस्मित बस्नेत तथा कक्षा ३ बाट शिखा नेपाली, दीपेश पौडेल र प्रमिला परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा शिक्षक रामबहादुर माल, बनिकुमारी घती र नितु तिवारी रहेका थिए ।
सहकार्यकलाप विभागका संयोजक धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन शिक्षिका शान्ता तिमिल्सीनाले गरेकी थिइन् ।