काठमाडौं– नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।
सभामुख घिमिरेले जिल्ला प्रहरी परिसर टेकुको पत्रबाट प्राप्त सूचनामा आधारमा सांसद रायमाझी निलम्बनमा परेकोबारे सदनलाई जानकारी गराएका हुन ।
सभामुख घिमिरेले भने,‘गजेन्द्र बुढाथोकीको समेत जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशवप्रसाद दुलालसमेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते राती ८ः२५ बजेको समयमा जिल्ला काठमाडौँ बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको चलानी नम्बर १२२७३ मिति २०७८ जेठ १ गतेको पत्रबाट सूचना प्राप्त भएको हुँदा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम यो सदनलाई जानकारी गराउँछु ।’
सांसद रायमाझीले अदालतबाट सफाइ पाएमा भने उनको निलम्बन फुकुवा हुने व्यवस्था रहेको छ ।