नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् ।
वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गरे । उनले भने, “गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौं । हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड़का टुक्रा फेला पारेको छ,” वन विभागका एक अधिकारीले भने ।
“मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ,” उनले भने । प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ ।
“घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना सङ्कलन गरिएको छ,” उनले भने । यसैबीच, वन विभागका अधिकारीले केही शव परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १९:३१