काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आफ्नो जिम्मामा रहेको केही मन्त्रालय कांग्रेसलाई भाग लगाइदिएका छन् । संघमा नेकपा एमाले सरकारबाट बाहिरिएसँगै गठबन्धन फेरिएपछि सरकारमा सहभागी कांग्रेसले छ मन्त्रालय मागेको थियो । एकीकृत समाजवादीले पनि दुई मन्त्रालय मागेपछि भागबण्डा मिलेन ।
जसका कारण चैत २६ गते कांग्रेसबाट दुई जनामात्र सरकारमा सहभागी भए । उक्त दिन कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री बने । तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेबारी पाए ।
कांग्रेसले अझै छ मन्त्रालयको अडान छाडेको छैन । गठबन्धनको प्रमुख साझेदार कांग्रेसले मन्त्री हुनेको टु्ंगो नलगाएपछि मुख्यमन्त्री जमकट्टेलले सोमबार कांग्रेसबाट सरकारको नेतृत्व सम्हालेका लामालाई थप तीन मन्त्रालयको जिम्मेबारी तोकिदिएका हुन् ।
पुस २५: शालिकराम जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त, एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थन
पुस २६: एमालेका जगन्नाथ थपलिया, राप्रपाका उद्धव थापा मन्त्रीमा नियुक्त
माघ ११: कुमारी मोक्तान, युवराज दुलाल, गंगानारायण श्रेष्ठलाई, केशवप्रसाद पोखरेल, एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, डम्बरबहादुर तामाङ र राजु विष्ट नयाँ मन्त्रीमा नियुक्त
फागुन १३: राप्रपा सरकारबाट फिर्ता
चैत १०: एमाले सरकारबाट फिर्ता/दोस्रोपटक मुख्यमन्त्रीलाई विश्वासको मत
चैत २६: कांग्रेसबाट सरकारमा बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा सहभागी
जेठ १: कांग्रेसलाई थप तीन मन्त्रालयको कार्यभार
‘माननीय प्रदेश प्रमुख श्री यादवचन्द्र शर्माज्यूले माननीय मुख्यमन्त्रीज्यूको सिफारिस माननीय मुख्यमन्त्रीज्यूले सम्हाल्दै आउनुभएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको कार्यभार आर्थिक मामिला तथा योजनामन्त्री माननीय श्री बहादुरसिंह लामा (तामाङ) ज्यूले सम्हाल्नेगरी तोक्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालय हेटौंडाका प्रवक्ता गोविन्दप्रसाद पौडेल सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बजेट निर्माणका लागि मन्त्रालयको भागबण्डा लगाएको भने पनि एकीकृत समाजवादीलाई भने कुनै जिम्मेबारी तोकेका छैनन् । सरकारमा हाल कांग्रेसका दुईसहित माओवादीका गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन् । माओवादीबाट बागमतीमा मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेका छन् ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।
को–को बने मन्त्री ?
मुख्यमन्त्री जमकट्टेलसँगै पुस २६ गते एमालेका जगन्नाथ थपलिया, राप्रपाका उद्धव थापाले मन्त्रीमा शपथ लिएका थिए । उक्त दिन थपलियाले भौतिक पूर्वाधारको जिम्मेवारी पाउँदा थापा विनाविभागीय मन्त्री बने ।
त्यसपछि माघ ११ गते कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकियो ।
विनाविभागीय मन्त्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकियो । गठबन्धन फेरिएसँगै फागुन १३ गते संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री तामाङ र वन तथा वातावरणमन्त्री विष्टले संयुक्तरूपमा राजीनामा बुझाए ।
एमाले भने फागुन १३ गतेमात्र सरकारबाट फिर्ता भयो । एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।