काठमाडौं– नेपालीलाई भुटानी शरणार्थी बनाएर संगठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएपछि नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पाले प्रहरीकहाँ पुगेका छन् । यो प्रकरणमा आफ्नो नाम मुछिएको थाहा पाएपछि शेर्पा सोमबार प्रहरी परिसर काठमाडौंमा आफैं पुगेका हुन् । ‘मेरो नाम आयो । के–के हो । यो केसमा मुछियो । यो के भएको हेरिदिनुप¥यो भनेर आफैं आउनुभयो,’ काठमाडौं प्रहरीका एसपी एवं प्रवक्ता सीताराम रिजालले भने ।
आङटावा सोमबार साँझ प्रहरी परिसर टेकुमा आफन्तसहित पुगेका थिए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर आएपछि उनी प्रहरी परिसर पुगेका हुन् । यद्यपि, उनीविरुद्ध पक्राउ पुर्जी भने जारी नभएको प्रहरी प्रवक्ता रिजालले प्रस्ट्याए । ‘बेलुकातिर आउनुभएको हो उहाँ । उहाँ आउनुभएको पक्राउ पुर्जी जारी भएर हैन । आफैं मेरो नाममा पनि यस्तो मिडियामा आयो । के रहेछ बुझिदिनुप¥यो भनेर अनुरोध गर्नुभएको कुरा छ,’ प्रवक्ता रिजालले भने ।
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका आङटावा पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका आरोप उनीमाथि लागेको छ । आइतबार दिनभर अनलाइन मिडियामा शरणार्थी प्रकरणमा उनको कनेक्सन भेटिएको दाबीसहितका समाचार प्रकाशन प्रसारण भएपछि सोमबार अखबारहरुले पनि यो दाबीसहितका समाचार प्रकाशन गरिएको थियो । आङटावाले हिरासत पुगेका केशव दुलाल र सानु भण्डारीसँग पटकपटक भेटेको र खाणले बुझेको रकम पीडितलाई फिर्ता दिने आश्वासनसमेत दिएको प्रहरी स्रोतको दाबी छ । खाणले सानु भण्डारीमार्फत एक करोड २५ लाख रुपैयाँ बुझेको प्रहरीको दाबी छ । आङटावाले आफूले यो प्रकरणमा सघाउने वचन दिएको प्रहरीले जनायो ।
देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछापको जिल्ला सभापतिसमेत भएका शेर्पा २०७० को संविधानसभा निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका हुन् । शेर्पा रामेछाप गोकुलगंगा गाउँपालिका–१, चुचुरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका आङटावाको रामेछापका विभिन्न हाइड्रोमासमेत लगानी देखिन्छ । जिल्लामा शेर्पा पार्टीभित्र राम्रै छवि भएको नेताका रुपमा हेरिन्छ ।
पछिल्लो प्रकरणबारे बुझ्न खोज्दा आङटावाको मोबाइल भने ‘स्विच अफ’ रहेको छ । यद्यपि, उनले प्रहरी कार्यालय जानुअघि आफू प्रहरीमा आत्मसमर्पणका लागि जान लागेको भन्ने भिडियो सामाजिक सञ्जालमा भेटिएको छ । उक्त भिडियोमा उनले भनेका छन्, ‘वैशाख २४ गते भारतमा दलाई लामाको दर्शन तीर्थ गर्न गएको थिएँ । मलाई पनि प्रहरीले खोजेको खबर आएपछि तीर्थ छोट्याएर आएको हो । आत्मसमर्पण गर्न टेकु प्रहरी कार्यालय जाँदै छु ।’
खाणको बयान रोकियो
सोमबारबाट पूर्वगृहमन्त्री खाणको बयान सुरु भएको छ । खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बयान आजसम्मका लागि रोकेको हो । खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु गरेको छ ।
‘बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने भने । खाणको बयान आज (मंगलबार) पनि जारी रहने प्रहरीले जनायो ।
रायमाझीलाई तीन दिन हिरासत
शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार पक्राउ परेका रायमाझीलाई सोमबार जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रिजालले बताए ।
रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औं दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो । उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ । अबको १० दिनभित्र प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । उक्त प्रकरणमा १०६ जनाले २३ करोड २५ लाख रुपैया ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ०८:४३