पछिल्लो समय प्राकृतिक विपत्तिका घटनाहरु लगातार बढिरहेका छन् । देशभर नै डढेलोले वन क्षेत्रमा निकै ठूलो क्षति पु¥याएको छ । अझै पनि डढेलो जाने क्रम रोकिएको छैन । यस्तै आगलागीका कारण जनधनको क्षति हुने क्रम पनि रोकिएको छैन । हावाहुरी चल्ने मौसम बल्ल सुरु भएकोले अझ आगलागीका घटनाहरु बढ्नसक्ने भएकोले सतर्कता अपनाउन जरुरी छ ।
यस्तै विपत्तिहरुमध्ये चट्याङले पनि ठूलो क्षति पु¥याइरहेको छ । चट्याङका कारण बर्सेनि धेरै मानिसले ज्यान गुमाउनुपर्छ । अन्य क्षति पनि त्यत्तिकै हुँदै आएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा मात्रै पनि देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् । प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार सोमबार राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् । डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो ।
देशका पहाडी जिल्लामा हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने क्रम जारी रहेकाले सावधानी अपनाउन मौसमविद् गोविन्द झा आग्रह गर्छन् । प्री–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न उनको सुझाव छ । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
हावाहुरी, चट्याङ, आगलागीसँगै अब वर्षात्को मौसम पनि सुरु हुँदै छ । वर्षा लागेपछि बाढीपहिरोको जोखिम उच्च हुने गर्दछ । त्यसैले हरेक विपत्तिबाट जोगिने र जोगाउने पूर्वतयारी गर्न जरुरी छ । सरकारले विपद्को जोखिम न्यूनीकरणकै लागि छुट्टै प्राधिकरण गठन गरी कार्याधिकार दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले यसका लागि काम गरिरहेको छ । तर, प्राधिकरणका कार्यहरु अझै पर्याप्त हुन सकिरहेको छैन । प्राकृतिक विपत्तिलाई कसैले रोक्न सक्दैनन्, तर ती विपद्को जोखिम कम गर्न सकिन्छ । त्यसका लागि थप प्रभावकारी रुपमा प्राधिकरणले काम गर्न जरुरी छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १०:४९