काठमाडौं - ‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने भएकाे छ ।
नेपाल एपीएफ क्लवको आयोजनामा यही जेठ २१ गतेदेखि २४ गतेसम्म ‘१६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०८०” संचालन हुने भएको छ ।
प्रतियोगिताका सम्पुर्ण खेलहरु Badminton World Federation(BWF) र Badminton Asian Confederation (BAC) को नियम अनुसार संचालन हुने र १० वटा इभेन्ट्सहरु समावेश सो प्रतियोगीताको कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
व्याडमिन्टनतर्फ पुरुष तथा महिला एकलमा प्रथम हुनेले ७० हजार रुपैयाँ,दोस्रो हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले टि–सर्ट प्राप्त गर्ने र पुरुष तथा महिला युगलमा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा,
भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ बर्ष माथि युगल रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगिता सम्बन्धी फारम तथा नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेभसाइट www.apf.gov.np र नेपाल व्याडमिन्टन संघबाट प्राप्त गर्न सक्ने छन् ।
प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ १५ सय र युगलतर्फ ३ हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा हुनेछ ।
प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय हुने छ । प्रतियोगिता सम्बन्धी कुनै जानकारी तथा बुझ्नु पर्ने भएमा सम्पर्क अधिकृत सशस्त्र प्रहरी निरीक्षक सुशिल अधिकारीको मोवाइल नम्बर ९८५१०८५३०८ र सशस्त्र प्रहरी निरीक्षक जोसेफ अधिकारीको मोवाइल नम्बर ९८६०१५७८१८ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
“१२ औँ सहवीर स्मृति खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०८०” सम्वन्धित सघं सग आवश्यक समन्वय गरी भदौ महिनामा संचालन गरिने भएको छ ।