स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको गल्याङका किसानको गुनासो रहेको छ ।
गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएका थिए। बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरले पसेर खाएइदिएपछि उनी चिन्तामा परे । “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उनले भने, “जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो ।” ‘एकजना अनिवार्य बाँदर कुर्न बस्नुपर्छ ।” उनले भने, “किसानहरु पालैपाले कुर्न बस्ने गर्छौँ, नगरपालिकाले सहयोग गरे त राम्रै हुनेथियो ।”
यस्तै छर्तिमा बेमौसमी मकैखेती तथा सयपत्री फूलखेती गरेका चन्द्रबहादुर राना ‘चित्र’ को समस्या श्रेष्ठको भन्दा कम छैन । खानेबेला भएको मकैबारीमा बाँदरको हुल कहिले बल्लो र कहिले पल्लोटोडाँबाट पसेर दुःख दिएको उनले बताए ।
बाँदर कहिले खेतमा पसेर त कहिले घरभित्रै पसेर खाद्यान्न खाइदिएपछि स्थानीयवासी झन् चिन्तित भएका छन् । गल्याङ –११, भाटीका ओम थापाले घरभित्रै बाँदर आएर मकैका झोत्ता लगिदिने गरेको उनी बताउछन् । “वर्षभरी दुःखकासाथ बाँदरबाटै जोगाएका अन्नपात घरमै आएर बाँदरले लगिदिँदा मन अमिलो हुन्छ ।”उनले भने, “दिउँसोमा केटाकेटी स्कुल जान्छन्, हामी बुढाबुढी मेलापात जान्छौँ, बाँदर झ्यालबाट र धुरीबाट छिरेर अन्नपात लैजान्छ ।”
गल्याङ–३, का वडाध्यक्ष कृष्ण भट्टराईले बाँदर आतङ्कले गाउँका स्थानीयबासीलाई समस्या हुदै गएको बताए । उनले भने, “गल्याङमा उर्वरभूमि भएर पनि बाँदरका कारण किसानले खेती लगाउन छाडेका छन् । बाँदर आतङ्क बसाइँसराइको प्रमुख कारण बन्दै गइरहेको छ ।” बाँदर मारेर स्थायी बन्ध्याकरण गरेर बाँदर आतङ्क नियन्त्रण गर्न सकिने केही आधार भए पनि कानुन नबन्दा झन्झट रहेको बताए । उनले बाँदर आतङ्कको समाधान सामूहिक प्रयास भएकाले नगर कार्यपालिकाको बैठकमा आफूले ध्यानाकर्षण राखेको बताए ।