जुनसुकै नेताले स्वदेशमै रोजगार सिर्जना गर्ने भनेर जतिसुकै ठोकुवा गरे पनि वैदेशिक रोजगार अपरिहार्य भइसकेको छ । ‘सूर्य अस्त, नेपाल मस्त’ भनेझैं नेपालमा न त व्यवसायको वातावरण छ, न त पूर्ण रोजगारको ।
नेपाली शिक्षाको पाठ्यक्रम हेर्ने हो भने झनै विरक्तलाग्दो छ स्थिति । १६/१७ वर्ष समय र जवानी शिक्षामा बिताएर सर्टिफिकेट लिएका युवालाई सरकारले कृषिमा ऋण दिन्छ । पुरानै दैनिकीमा फर्कनुपर्दा व्यक्तिले शिक्षामा गरेको लगानी त बालुवामा पानी हुने भयो नै राज्यको लगानी पनि स्वाह नै हुन्छ । अझ ऋणै लिएर डिग्री लिएपछि फेरि ऋणै लिएर कृषिमा फर्कनुपर्दा को टिक्ला नेपालमा ?
यो हो ७० को दशकमा युवाले भोगेको समस्या । अहिले यो समस्याबाट चेत लिएकाहरुले आफ्ना छोराछोरीलाई सानैबाट महजोडीको दाल, भात, तरकारी चलचित्रको ‘भिजिट भिसामा हजुर भिजिट भिसामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा’ भन्ने गीतकै लयमा तयारी गराउँछन् । भए अमेरिका, क्यानडा, नभए अस्ट्रेलिया जापान । त्यता पनि भाग्य नलागे खाडी छँदै छ ।
यही दौरानमा युवाहरु ठगिएका छन् । नेपालमै सरकारबाट लुटिएका छन् ।
अनधिकृत दलालबाट लुटिएका छन् । पछिल्लो नक्कली शरणार्थी प्रकरण यसको ज्वलन्त उदाहरण हो । बन्द भइसकेको शरणार्थी कोटामा त युवाहरु फसे भने खुला देशहरुमा लोभिनु ठूलो कुरा रहेन । यो प्रकरणमा २३ करोड बराबरको ठगी भएको खुलेको छ । तर यो भन्दा विकराल रिपोर्ट छ वैदेशिक रोजगारी । विभिन्न स्थानमा लैजाने प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूबाट ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार ४१७ ठगी भएको छ ।नेताहरु चुनावमा गाउँलाई बसुँबसुँ लाग्ने वातावरण बनाउँछु भन्दै जितेर नफर्केको धेरै भइसक्यो । यस्तै नारा लिएर जितेर पाँच वर्षपछि फर्केकाहरुलाई जनताले मतदानबाट पाता कसेर लडाएर पठाएको घटना छर्लंगै छ ।
तर यो त एउटा प्रक्रिया हो, एउटा नेता हारे अर्को नेताले जित्छन् नै । तिनले प्रणाली सुधार्ने र सुशासन बनाउनेतर्फ ध्यान नदिँदा ठगी जस्ताको तस्तै छ । साँझ नपर्दै प्रहरी खटाएर पसल बन्द गराउने विधिले देश बन्दैन । त्यसैले वैदेशिक रोजगारीमा हुने ठगी रोक । देशमै गरिखाने वातावरण बनाऊ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ११:४८