काठमाडाैं- संगीतकार योगेन्द्र उपाध्यायलाई कहिले देखि संगीतको चस्को पस्यो थाहै छैन । योगेन्द्रले सानैदेखि जानेर नजानेरै मादल बजाउथे । त्यही मादलको धुन सँगै झाङ्गिएको योगेन्द्रको संगीत मोहले उनलाई देशकै सफल संगीतकार बनाएको छ ।
संगीतकारका लागि बाजाको ज्ञान अनिवार्य ठान्ने उपाध्यायले संगीतको औपचारिक अध्ययन हार्मोनियमको साथमा सुरु गरेका थिए । हार्मोनियममा सुर खोज्दै, धुन निकाल्दै संगीतको सिकाई सुरु गरेका उनले संगीतमै मास्टर गरेका छन् । सुरुमा विभिन्न संगीत शिक्षालयहरूमा संगीतको ज्ञान लिन सुरु गरेका योगेन्द्रले त्रिभुवन विश्वविद्यालयबाट संगीतमै स्नाकोत्तर गरे ।
त्यसो त योगेन्द्र रेडियो नेपालको वर्गीकरणमा ‘ए’ ग्रेडका संगीतकार हुन् । नेपालमा गायक, गायिका, गीतकार, संगीतकार तथा बाद्यवादकहरूको बर्गीकरण सरकारी स्वामित्वको रेडियो नेपालले गर्ने भएकालाई यसलाई आधिकारिक पनि मान्न सकिन्छ । ‘ए’ ग्रेडको संगीतकार हुनुका साथै योगेन्द्र विभिन्न संगीत प्रतियोगितामा प्रथम भएका छन् भने उत्कृष्ट संगीत सिर्जनाका लागि राष्ट्रियस्तरका अवार्डहरू समेत प्राप्त गरेका छन् ।
चर्चित गीतहरूका सफल संगीतकारका रूपमा स्थापित योगेन्द्रले संगीत सिर्जना गर्दा बाजाको तालमेल, उपयुक्त बाजाको प्रयोग र सन्तुलन अत्यन्त आवश्यक ठान्दछन् । आफ्नै संगीतमा चारवटा गीति एल्वम तथा झण्डै सयको हाराहारीमा गीत बजारमा ल्याइसकेका योगेन्द्र मौलिक नेपाली संगीतलाई नै आफुले प्राथमिकतामा राखेको बताउँछन् । प्रस्तुत छ उनै संगीतकार उपाध्यायसँग बाजाको नजिक रहेर गरिएको कुराकानीः
- संगीतकारका लागि बाजाको ज्ञान कत्तिको आवश्यक हुन्छ ?
संगीतकारका लागि बाजाको ज्ञान अनिवार्य आवश्यकता हो भन्दा फरक पर्दैन । यसको अर्थ एउटै संगीतकार हरेक बाजा बजाउन सक्षम हुनुपर्छ भन्ने होइन । समान्यतया कुनै न कुनै बाध्ययन्त्र प्रयोग गरेरै शब्दमा संगीत सृजना गर्ने गरिन्छ । उक्त सृजनामाथी संगीत संयोजन गर्दा पनि कुन–कुन बाजाको प्रयोग कति मात्रामा उचित हुन्छ र कुन स्थानमा कुन बाजा बजाउँदा त्यसले संगीतमा मिठास भर्छ भन्ने कुरामा संगीतकार जानाकार रहनु पर्छ । यसका लागि पनि बाजाको ज्ञान आवश्यक हुन्छ ।
- यहाँले संगीतमै मास्टर गर्नुभयो, नेपालमा बाजाको औपचारिक अध्ययन÷अध्यापन हुन्छ कि हुँदैन ?
हालसम्म एकेडेमिक रूपमा चाहीँ त्रिभुवन विश्वविद्यालयमा गायन, सितार अनि तबला को मात्र औपचारिक अध्ययन हुन्छ । अन्य बाजाहरू जस्तै गीतार, बाँसुरी, भ्वाइलिन मादल, हार्मोनियम आदी एकेडेमिक रूपमा नभई बिभिन्न संगीत विद्यालयहरूमा अध्ययन/अध्यापन हुने गर्छ ।
- तपाईलाई चाँहि कतिवटा बाजा बजाउन आउँछ ?
लगभग ७÷८ वटा बाजाहरू बजाउन आउछ । मादल, हर्मोनियम, तबला,गीतार, कि–बोर्ड, जिम्बे, कंगोलगायतका बाजाहरू म आफै बजाउँछु ।
- गीत कम्पोज गर्दा कुन बाजाको साथमा मेलोडी तयार गर्नुहुन्छ ?
संगीत सिर्जना गर्दा मैले प्रयोग गर्ने बाजा गीतको प्रकृति अनुसार फरक फरक हुछ । जस्तै नेपाली परम्परागत आधुनिक वा शास्त्रीय संगीत सिर्जना गर्नु छ भने हार्मोनियम वा तानपुराको प्रयोग गर्छु । लोकलयका गीतहरू तयार गर्दा मादल र बाँसुरीको प्रयोग गर्छु भने पप, लोकपप, रक वा डान्सिङ गीतहरू बनाउनु पर्दा सामन्यत याः गीतारको प्रयोग गर्ने गर्छु ।
- यहाँलाई मनपर्ने बाजा कुन हो ?
बजाउन हैन सुन्न मात्र मन पर्ने बाजा चाहिं बाँसुरी र भ्वाइलिन हो । आफुले बजाउनेमा चाहीं गितार, हार्मोनियम, तबला र मादल बजाउन मनपर्र्छ ।
- यहाँले आफ्ना सिर्जनामा सबैभन्दा बढी प्रयोग गरेको बाजा कुन हो ?
शब्द, लय तथा तालका आधारमा प्रयोग गर्ने बाजाहरू फरक फरक छन् । यद्यपी कम्पोज गर्दा चाहीँ गितार, हार्मोनियम, तबला र मादल प्रयोग गर्छु भने संगीत संयोजनमा आवश्यक्ताका आधारमा अन्य बाजाहरूको पनि प्रयोग गर्ने गरेको छु ।
- उत्कृष्ट संगीत सृजनामा बाजाको सन्तुलन कत्तिको महत्त्वपूर्ण हुन्छ ?
शरिरमा अंगहरू जस्तै हुन् संगीत सिर्जनामा बाजाहरू । जसरी एउटा स्वस्थ्य शरिरका लागि हरेक अंग सही स्थानमा रहेर सही तरिकाले काम गर्नुपर्छ त्यसैगरि उत्कृष्ट संगीत सिर्जनाका लागि बाजाहरूको सन्तुलन उत्तिकै सही हुनुपर्छ । बाजाको सन्तुलन हुन नसके कुनै पनि संगीत अपुरो र खल्लो बन्दछ । समग्रमा भन्नु पर्दा संगीतमा ज्यान भर्ने भनेकै बाजाको सन्तुलनले हुने हो ।
- पछिल्लो समय नेपाली मौलिक बाजाको प्रयोग कम हुँदै गएको हो ?
मौलिक बाजाहरूको प्रयोगमा कमी आएको कुरालाई नकार्न सकिन्न । त्यसको प्रमुख कारण भनेको मौलिक गीत संगीतको सिर्जना नै कम हुन थाल्नु हो । पहिले जसरी मौलिक गीतसंगीतको लहर थियो, त्यो लहरमा धेरै ह्रास आएको सत्य हो । मैले संगीत गरेका गीतहरूमा भने सम्भव भएसम्म नेपाली मौलिक बाजाहरू प्रयोग गरिरहेको छु । कतिपय अवस्थामा हामीलाई प्रबिधिले पनि सघाएको छ । अचेल कम्प्युटर प्रोग्रामिंगका माध्यमबाट पनि बाजाको प्रयोग हुन थालेकोले लाइभ बाजाको प्रयोग केही कम भएको हो ।