काठमाडौं — आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटको शानदार जित हात पारेको छ । अमेरिकाले दिएको ३५ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि पूर्व कप्तान पारस खड्का २० रन र उपकप्तान दिपेन्द्रसिंह ऐरीले १५ रन बनाउँदै जित हासिल गराए ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए भने अर्का ओपनर सुवास खकुरेल शुन्य रनमा आउट भए । त्यसअघि सन्दीप लामिछानेको घातक बलिङमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियो । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गरेको हो । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।
टस जितेर अमेरिकालाई ब्याटिङका लागि निम्तो दिएको नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम बलमा इयान होल्यान्डलाई शुन्य रनमा आउट गरेको थियो । त्यसपछि अमेरिकाका छैठौं ओभरमा २३ रन बनाउँदा दोस्रो विकेट गुमाएको अमेरिकाले थप १२ रन बनाउँदा ८ विकेट गुमाएको थियो ।
पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् भने अमेरिकाका ३ खेलाडी शुन्य रनमा आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ६ नै विकेट लिएका थिए । त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिए भने करण केसीले ३ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएका थिए । सन्दीप म्यान अफ द म्याच घोषित भएका छन् ।
लिगको अन्तिम खेलसँगै नेपालको ४ खेलमा २ मा जीत २ मा हार ब्यहोर्दै ४ अंकसहित छैठौं स्थानमा रहेको छ । भने ओमन १० खेलमा ८ जित हात पार्दै १६ अंकसहित शीर्षस्थानमा रहेको छ । अमेरिका १२ खेलमा ६ जित र ६ हार ब्यहोर्दै १२ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।