काठमाडौं– उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिएकी छन् ।
विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम् अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय कार्यशालाको अनुभाव सुनाउँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको उपस्थिति प्रभावकारीरुपमा बढाउन सरकारलाई गहन गृहकार्यका लागि सल्लाह दिए ।
उपसभामुख रानाले त्यसका लागि तत्तत् देश र क्षेत्र हेर्ने वाणिज्यदूत र राजदूतलाई पहलका लागि अधिकतम प्रयोग गर्न सुझाव पनि दिए । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँगको भेटमा उहाँले जलवायु परिवर्तनबाट नेपालका हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायतका विषयवस्तु उठाएको जानकारी दिए ।
नेपालले सन् २००४ देखि यस्ता कार्यक्रममा भाग लिँदै आएको छ । विश्वव्यापार सङ्गठनले नेपाललगायत विकासोन्मुख देशको पूर्वाधार विकासलगायत क्षेत्रमासमेत विविधखाले सहयोग पु¥याउँदै आएको छ । विकासोन्मुख देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा एकअर्का देशको अनुभव आदानप्रदान गर्न त्यस्ता मञ्च महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यशालामा खासगरी एशिया प्रशान्त तटीय क्षेत्रका माछा उत्पादन र निर्यात गर्ने मुलुकका उपसभामुख तथा संसद् सदस्यको बाहुल्यता रहेको उक्त कार्यशाला राजनीतिक अस्थिरता र भ्रष्टाचार भएको मुलुकलाई अवसर प्रदान गर्ने मामिलामा अड्चन रहेको आफूले अनुभव गरेको उपसभामुख रानाले बताए ।
यही जेठ १ देखि ३ गतेसम्म उक्त कार्यशालामा सहभागी हुनुभएका उपसभामुख रानाले नेपालको चिसो हावापानीमा उत्पादन भएका गुणस्तरीय चिया र कफीको स्वाद् तथा प्रवद्र्धनबारेमा पनि त्यहाँ आफूले चर्चा गरेको बताए।
नेपालले कृषि उत्पादनमा जोड दिँदै राजस्व बढाउने, नवीनतम प्रविधिको प्रयोग गर्ने तथा रोजगारी वृद्धिका विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गरेमा मुलुकले विकास र समृद्धिको लक्ष्य छिट्टै हासिल गर्ने उनले धारणा राखे ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० १६:४२