काठमाडौं- तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रबारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले गरेका थिए । भेला उद्घाटन गर्दै मन्त्री लामाले प्रदेशप्रति स्थानीय र संघ दुवै सरकारले गरेको व्यवहार ठीक नभएको बताएका थिए । मन्त्री लामाले प्रदेशको बजेटतिर दुवै सरकारले आँखा लगाउने गरेको पाइएको दाबी गरेका हुन् ।
‘संघप्रति मान्छेहरुको विश्वास भएन । किन त संघले काम गरेको हो कि प्रदेशले । स्थानीयले के सोच्ने रहेछ भने स्थानीयले प्रदेशसँग धेरै पैसा हुनेरहेछ । यसले हामीलाई असर गर्छ । यो प्रदेश चाहिँदैन भन्ने । माथि संघ पनि त्यो पैसा त हामीले चलाउन पाए त हुने भन्ने,’ मन्त्री लामाले भने । यसरी दुई तहको सरकारले पैसामा आँखा लगाएर प्रदेश नै नचाहिने खालको तर्क राखेको आफूले पाएको उनको भनाइ थियो । यस्तो व्यवहारले प्रदेश गएमा संघीय सरकार पनि नरहने र स्थानीयले पनि अधिकार नपाउने लामाले बताए । ‘प्रदेशै गएपछि त संघ पनि रहँदैन । प्रदेश गइसकेपछि त संघीयता नै गयो नि । व्यवस्था नरहे कसरी स्थानीयले अधिकार रहन्छ तरु यो कुरा बुझ्नुप¥यो,’ मन्त्री लामाले भने ।
यद्यपि, तिनै सरकारले एकै खालको काम गर्दा जनता भने झुक्किएको उनको भनाइ रह्यो । ‘डुप्लिकेसन धेरै भएको छ । संघले पनि त्यही काम गर्ने प्रदेशले पनि त्यही काम गर्ने स्थानीयले पनि त्यही काम गर्ने । भनौं भने साथीहरु जागिहाल्ने । नभनौं भने गाह्रो पर्ने,’ मन्त्री लामाले भने ।
उनले तामाङ समुदायका लागि आफूले सकेको सहयोग गर्ने बताए । भेलामा संघले प्रकाशन गरेको पत्रिका ‘कलमजीवी’ समेत सार्वजनिक गरियो । भाषा आयोगका सदस्य भाषाविद् अमृत योञ्जन तामाङले ‘कलमजीवि’लाई निरन्तर दिन सके इतिहासमा एउटा राम्रो अभिलेख तयार हुने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङहरु समाजको हरेक क्षेत्रमा कमजोर रहेकोले त्यसलाई पत्रकारिताको माध्यमबाट झकझक्याउने काम गर्नुपर्नेमा जोड दिए ।
१० लाखको अक्षयकोष घोषणा
संघले तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरेको छ । संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार साढे छ लाख रकमसमेत कबोल भइसकेको छ ।
यसअघि अक्षयकोषमा तीन लाख ५० हजार रुपैयाँ कबोल भइसकेको थियो । शुक्रबार थप तीन लाख रकम कबोल भएको हो । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन लामाले एक लाख, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले ५० हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ५० हजार, तामाङ समाज नर्थ अमेरिकाका सल्लाहकार लोक लामा गोलेले ५० हजार, संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङले ४३ हजार, संघका निवर्तमान अध्यक्ष विष्णु तामाङले २५ हजार, तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले १० हजार १०, मम्स् नेपालकी कार्यकारी निर्देशक रञ्जिता लामाले १० हजार, गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङ १० हजार रुपैयाँ कोषलाई उपलब्ध गराउने घोषणा गरे ।
संघका संस्थापक अध्यक्ष रविन्द्रले समुदायकोसमेत कर परेकाले सरकारले अक्षयकोषको केही न केही सहयोग गर्नु आवश्यक रहेको बताए । यसअघि संघका सल्लाहकार ङिमा पाख्रिनले एक लाख, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्वअध्यक्ष लक्यान लामाले एक लाख र व्यवसायी कुयाङ लामाले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
नेपाल टेलिभिजनका महाप्रबन्धक वलले अक्षयकोषलाई १० लाखबाट ५० लाखको बनाउन सुझाव दिए । यसै कोषबाट संघले हरेक वर्ष ५० हजार रुपैयाँ बराबरको ‘पहिचानमुलक तामाङ पत्रकारिता लेखनावृद्धि (फेलोसिप)’ प्रदान गर्ने तयारीसमेत गरेको छ । यसैगरी पत्रकारितामार्फत तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पु¥याउने दुई जना तामाङ पत्रकारलाई १०–१० हजार रुपैयाँसहित ‘तामाङ मिडिया अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ । यस्तै, स्वर्गीय पत्रकार दीपेन्द्र दोङको स्मृतिमा प्रत्येक वर्ष एक जनालाई १० हजार रुपैयाँ ‘दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने संघले जनाएको छ ।
स्थानीय तहका मुद्दामा छलफल
भेलामा स्थानीय तहमा तामाङका मुद्दा विषयमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङसँग अन्तरक्रियासमेत भयो । इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका तामाङले आफ्नो कार्यकालमा संस्कृति जोगाउन लागिपरेको बताए ।
विकासका क्रममा तामाङ पहिचान भएको बस्ती मासिएको बारेमा तामाङको जवाफ थियो, ’विकासको अर्को स्वरुप विनास बन्नुहुदैन । तर, विकासलाई आत्मसात गर्दै लानुपर्छ ।’
त्यसैगरी तामाङ समुदायको आर्थिक उपार्जनको बाटो अहिले पनि रक्सी भएको उल्लेख गर्दै यसमा राज्यको अंकुश लगाउने अवस्था अझै रहेको बताए । ‘तामाङ समुदायको आर्थिक उपार्जन अहिले पनि रक्सी हो । तर, कानुनले त्यो गर्न बर्जित गरेको छ,’ तामाङले भने । अन्तरक्रियाको सहजीकरण संघकी केन्द्रीय सदस्य शान्ति तामाङले गरेकी थिइन् ।
शुक्रबार २२ जिल्ला र दुई प्रदेश कार्यसमितले भेलामा रिपोर्टसमेत प्रस्तुत गरेका थियो ।
प्रशिक्षणात्मक कार्यक्रम
दोस्रो दिन शनिबार प्रशिक्षणात्मक कार्यक्रम भयो । संघका पूर्वअध्यक्ष जगतमान दोङले ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ विषयमा प्रशिक्षण सञ्चालन गरे । उनले तामाङ संघसंस्थालाई सिर्जनात्मक खबरदारी गर्नेदेखि हरेक संस्थासँग समदुरीको सम्बन्ध कायम राख्नुपर्ने काम संघको नेतृत्वमा हुनुपर्ने धारणा राखे । तामाङ सञ्चार समूह हुँदै स्थापना भएको संघको इतिहासबारे चर्चा गर्दै दोङले सदस्यता बढाउनमा जोड दिए ।
वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले तामाङ आदिवासी जनजातिका मिडिया सरोकार विषयमा जानकारी दिँदै आइएलओ १६९ गुरुमन्त्र भएको बताए । स्थानीय तहको नामाकरणदेखि कृषि प्रणाली, आदिवासी ज्ञान प्रणाली र प्रथाजनित संस्थाबारे पनि सवालहरु उठाउन सकिने धारणा राखे ।
आदिवासी जनजातिहरु विभिन्न सम्झौतामा फस्ने गरेको उल्लेख गर्दै यात्रुले आदिवासीका मुद्दामा कलम चलाउँदा स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी(एफपिक कानुन)बारे बुझेरमात्र काम गर्नुपर्ने बताए ।
संघका सल्लाहकार अमध्वज लामाले ‘तामाङ पत्रकाररको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ विषयक प्रशिक्षण दिए । लामाले तामाङ पत्रकारले स्रोतमा पहुँच बढाउन र व्यवसायिक क्षमता बढाउन जोड दिए । ‘स्रोतमा पहुँच बढाउनुप¥यो । व्यावसायिक क्षमता बढाउनुप¥यो,’ लामाले भने, ‘त्यसपछि आन्तरिक स्रोत, बाह्य स्रोत, अन्य स्रोतको खोजी गर्न सकिन्छ ।’
‘तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्छ’
काठमाडौं (प्रस)– बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले तामाङ भाषा संरक्षण गर्न यसलाई डिजिटालाइज गर्नुपर्ने धारणा राखेका छन् । तामाङ पत्रकार संघले राष्ट्रिय भेलाको अवसरमा शनिबार आयोजित ‘मातृभाषा पत्रकारिता र प्रेस रजिस्ट्रार कार्यालयको भूमिका’ विषयक अन्तरक्रियामा सापकोटाले भने, ‘तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्छ । जसले गर्दा गुरुङले तामाङ भाषालाई तमु भाषामा बुझोस् । अंग्रेजले आफ्नो भाषामा ।’
उनले सञ्चार रजिस्ट्रारको कार्यालयले सञ्चारसम्बन्धी विभिन्न कार्यक्रमहरु गरे पनि तामाङ समुदायको चासो भने कम भेटिएको बताए । ‘हामीले पत्रकारिता क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु गरेका छौं । तामाङहरु पनि छन् । तर, तामाङहरुको चासो र सहभागिता कम छ यहाँको जनसंख्या हेर्दा,’ सापकोटाले भने ।
मातृभाषा पत्रकारिताबारे भने केही छलफलमात्र सुरु भएको तर ठोस काम अझै हुन बाँकी रहेको उनको भनाइ थियो । ‘मातृभाषा पत्रकारिताबारे केही छलफल भएका छन् । मातृभाषा पत्रकारितामा संलग्नलाई यहाँ टिकाउन नसके जनशक्ति पलायन हुने डर छ,’ उनले भने । तामाङ भाषामा पोडकास्टमा कार्यक्रम चलाउन सकिनेसमेत उनको सुझाव रह्यो ।
बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो कार्यकालबाट नगरपालिकाभर ल्होछार उत्सवका रुपमा मनाउन थालिएको बताइन् । ‘नगरपालिकाले ल्होछार मनाउँदा सार्वजनिक बिदा दिन्छ । यो पनि एउटा राजनीतिक विम्ब हो,’ लामाले भनिन् ।
आफ्नो राजनीतिक संघर्ष सुनाउँदै उनले आफूले टिकट पाउँदा घरमा रुवाबासी भएकोसमेत उनले बताइन् । ‘पढ्नु र जागिर खानुमात्र थिएन सामाजिक चेतना निर्माणको पनि विषय थियो । संगठनले मेरो क्षमता हेरेर टिकट दियो । अरुको घरमा टिकट पाउँदा हर्षोउल्लास भएको थियो, मेरोमा रुवाबासी,’ उपप्रमुख लामाले भनिन्, ‘पोलिटिक्स डिस्ट्रोय हुँदै छ । आशा लाग्दा अनुहार यहाँ आउन सक्दैन भनेर ।’
आफूले पाएको टिकट बाआमाले गरेको लगानीको परिणाम भएकोसमेत उनको भनाइ थियो । विकासका क्रममा अहिले तामाङहरुले आफ्नो जमिन गुमाउन थालेको भन्दै लामाले चिन्ता व्यक्त गरिन् । ‘बूढानीलकण्ठका तामाङहरु घरघरमा जाँडरक्सी बेच्थे । सुकुटी बेच्थे । अहिले तामाङहरु जहाँको तही छन् । तर, डाँडाका जग्गाहरु छोराछोरीलाई शिक्षा दिन तथा विभिन्न कारण डाँडा गाउँ र तौलुङ अर्कैको बन्यो,’ उनले भनिन् ।
तामाङ समुदायको पत्रकारिताका लागि आफू सक्दो सहयोग गर्न तयार रहेको लामाले प्रतिबद्धता जनाइन् ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १३:०१