काठमाडौं– कलाकार बन्नकै लागि दोलखा जिल्लाबाट काठमाडौंं छिरेका दिनेश केसीले सुरुवाती समयमा कैयौँ संघर्षको सामान गर्नुप¥यो । तैपनि निरन्तरको प्रयास र उनको इमान्दारिता, धैयता र लगनले उनलाई आज फिल्मी क्षेत्रमा स्थापित गरी छाड्यो ।
बिगत एक दशकदेखि फिल्मीे क्षेत्रमा निरन्तर आफ्नो अभिनय कलामार्फत दर्शक, निर्माता र निर्देशकको रोजाइमा पर्दै आइरहेका नायक दिनेश केसी फिल्ममा हरेक भूमिकामा सशक्त अभिनय गर्न सक्ने र आफ्नो पात्रलाई पूर्ण न्याय गर्न सक्ने भनेर परिचित छन् । नेपाली फिल्मलाई विश्व बजारसम्म पुर्याउनु पर्दछ भन्ने अभियानसहित उनी अहिले विभिन्न मुलुकको भ्रमण र त्यहाँको चलचित्र उद्योगसँग सम्बन्धित चलचित्र कर्मीहरूसँगको सम्पर्कमा रहेका छन् । यसैक्रममा उनले विश्वका डेढ दर्जन मुलुकको भ्रमण गरिसकेका छन् ।
थोरै सिनेमा गर्ने र राम्रो स्क्रिप्टमा काम गर्ने नायक केसी फिल्मी जगतका ईमान्दार र मिहिनेति कलाकारको रूपमा चिनिन्छन् । दर्शकको विश्वासलाई टिकाइ राख्न आफूले स्तरीय फिल्ममात्र गर्ने गरेको उनको भनाइ छ । भाषाले भन्दा मौलिक प्रस्तुती कला, सांस्कृतिक सभ्यता र प्राकृतिक सुन्दरताका कारण नेपाली फिल्मले विश्व बजारलाई आकर्षित गर्ने उनको बिश्वास छ । करिब दर्जन फिल्ममा अभिनय गरेका केसी २०६७ मा प्रदर्शनमा आएको फिल्म ‘दानव’बाट नेपाली फिल्म क्षेत्रमा देखिएका हुन् । नायक केसीले निशाना, बादशाह, नायक खलनायक, राजा, झमेला, शिसा, लालेलगायतका फिल्ममा काम गरिसकेका छन् ।
दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेका केसी बिभिन्न सम्मानबाट सम्मानित भएका छन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति जनाउने क्रममा लण्डन, चीन, जापान, फ्रान्स, जर्मन, इटली, बेल्जियम, स्पेन, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, ब्राजिललगायतका मुलुक पुगेर आफ्नो प्रस्तुति पस्किसकेका छन् ।