पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप बढदै गएको देखिन थालेको छ । ‘क्याप्री पक्स’ नामक भाइरस संक्रमणका कारण लम्पी स्किन रोगको प्रकोप देखिन थालेको हो । लम्पी स्किनका रोगको संक्रमणका कारण गाउँदेखि सहरी क्षेत्रका गाईभैँसी मर्न थालेका छन् । सयौं गाईवस्तुमा यो रोगको संक्रमण देखिन थाल्नु चिन्ताको विषय बनेको छ । नेपालमा ३५ भन्दा बढी जिल्लामा अहिले यो महामारी फैलिएको छ ।
लम्पीका कारण पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुचाउने र दूध कम दिने लक्षण देखिन्छ । चिकित्सकका अनुसार संक्रमण भएका गाईवस्तुको छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्छ भने नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ संक्रमण बढेपछि पशुचौपाया मर्छन् ।
संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ । रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काँढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ । लम्पी स्किन रोगको संक्रमण भैँसीको तुलनामा गाईमा बढी देखिने गर्छ ।
यो रोगले दूध उत्पादनमासमेत कमी हुने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुपालन किसानको आर्थिक आम्दानीको एक प्रमुख स्रोत हो । पशुपालनबाट नगदमात्र हैन खेतीपातीका लागि चाहिने मलसमेत उत्पादन गर्छ । पशु चिकित्सक अनन्त कोइरालाका अनुसार लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिन्छ । यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ ।
तर, गाईवस्तु बिरामी भएपछि दूध उत्पादनमै कमी आउँछ । अन्य वस्तुमा संक्रमण हुन नदिन यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । तर, सरकारले यो रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न सकेको छैन ।
रोग लाग्न नदिन खोप लगाउन सकिन्छ तर संक्रमित पशुमा खोप लगाउन मिल्दैन । त्यसैले सरकारले पशुपालनमा लागेका किसानलाई यस्तो मारबाट जोगाउन यस्तो महामारी रोक्ने उपाय तत्काल खोज्नुपर्छ । संक्रमित पशुको व्यवस्थापन र खोप तत्काल प्रबन्ध गरी सरकारले आर्थिक मन्दी लागेको बेला किसानको क्षति कम गराउनुपर्छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १३:११