काठमाडौं– सरकारले खाडीसहित मलेसियालगायतका मुलुकमा भिजिट भिसा लिएर जाने नेपालीहरुमाथि निगरानी बढाउन मातहतका निकायहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले भिजिट भिसामा खाडी मुलुकहरु, टर्की, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जाने नेपालीहरुमाथि बढी निगरानी गर्न निर्देशन दिएको हो ।
विभागले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग रोक्न र सम्भावित जोखिम न्यूनीकरण गर्न सतर्कताका साथ कार्य गर्नुपर्ने जनाएको छ । भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुनसक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्न विभागका महानिर्देशक झलकराम अधिकारीले निर्देशन दिएका छन् । उल्लिखित मुलुकमा भिजिट भिसामा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रस भेरिफिकेसन गर्न पनि निर्देशन दिइएको छ । साथै, फर्जी कागजात भए÷नभएको यकीन गर्न वैधता अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ ।
भिजिट भिसामा प्रस्थान अनुमति दिँदा नाता प्रमाणितलगायत आवश्यक कागजात अनिवार्यरुपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्नसमेत निर्देशन दिइएको छ । यतिमात्र नभई भिजिट भिसासम्बन्धी २०७९ फागुन २९ को सचिवस्तरीय निर्णयानुसार निर्धारित मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्ने गराउने सम्बन्धमा कार्यालय प्रमुखले अनुगमन गरी त्यसको जानकारी विभागलाई दिनुपर्ने छ । यस्तै कुनै पनि संघसंस्था, ट्राभल एजेन्सी, स्कुल÷कलेज, सहकारी आदिले समूहगतरुपमा भिजिट भिसामा लैजाने हुँदा प्रचलित कानुनमा तोकिएको विषयका अलवा अन्य सबैमा उल्लेखित संघसंस्थाहरुलाई नै उत्तरदायी बनाउन पनि विभागले निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १०:२२