काठमाडौं (प्रस)– ओमानको मस्कटस्थित नेपाली राजदूतावासले पनि पुनः श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै यही जेठ १८ गते अर्थात् जुन १ देखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने जानकारी दिएको हो ।
यसअघि कतार र मलेसियास्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । सरकारले विदेशमा रहेका श्रमिकहरुको सुरक्षा र सहजताको लागि भन्दै गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । दूतावासले श्रम स्वीकृति सकिएका वा पुनः श्रम स्वीकृति लिनुपर्ने श्रमिकहरुलाई अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ । अनलाइन आवेदन दिनका लागि सरकारले बनाएको अनलाइन सफ्टवेयर वैदेशिक रोजगार व्यवस्थापन (फेइम्स्) प्रणालीमा आबद्ध हुनुपर्ने दूतावासले जनाएको छ । सबै प्रक्रिया अनलाइनबाटै हुने भएकाले सेवाग्रही दूतावासमा नै उपस्थित हुनु नपर्ने उल्लेख गरिएको छ ।
पुनः श्रम स्वीकृतिका लागि प्राप्त आवेदनको संख्याअनुसार थपघट हुनेगरी हाललाई दैनिक १५ वटा टोकन उपलब्ध गराई सेवा प्रक्रिया सुचारु गर्ने बताइएको छ । अनलाइन आवेदनका लागि पासपोर्ट साइजको फोटो, राहदानीको तस्बिर भएको पहिलो पेज, राहदानीमा लागेको आगमन र प्रस्थानको विवरण खुल्ने पेजहरू, करार सम्झौतापत्रको कपी, पुरानो श्रम स्वीकृति र भिसाको स्क्यान कपी अपलोड गर्नु पर्नेछ । अनलाइनबाट फाराम भर्दा श्रम स्वीकृति लिने ठाउँमा ओमानको मस्कटमा रहेको नेपाली दूतावास भनेर विकल्पमा छान्नुपर्छ । सबै प्रक्रिया पु¥याएर आवेदन दिएपछि श्रम स्वीकृतिको निस्सा पनि अनलाइनमार्फत नै प्राप्त हने दूतावासले जनाएको छ । तर, पुरानो श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेको भए यसका लागि नेपालको वैदेशिक रोजगार कार्यालयमा उपस्थित भई बायोमेट्रिक गर्नुपर्ने दूतावासले जनाएको छ ।
त्यस्तै पुनः श्रम स्वीकृति लिनका लागि कामदारले कल्याणकारी कोष, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा अनिवार्य तोकिएको रकम बुझाएको हुनुपर्नेछ । यसका लागि कनेक्ट आइपिएस, इसेवा र खल्तीजस्ता माध्यम प्रयोग गर्न सकिनेछ । दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएपछि ओमानमा रहेका नेपाली कामदारहरु लाभान्वित हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १०:२८