पाल्पा– पाल्पाको तानसेनमा पाल्पा महोत्सव सुरु भएको छ । उक्त महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उद्घाटन गर्दै महोत्सवको सफलताको कामना गरे ।
‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारासहित आगामी फागुन ११ गतेसम्म चल्ने महोत्सवमा २ सय ७५ भन्दा बढी स्टलहरू रहेका छन् । यस महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बरका अध्यक्ष चिरन्जिवि पोखरेलले जानकारी दिएका छन् । बिभिन्न जातजातिका कला संस्कृतिसँगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूको मेलामा प्रस्तुती रहने आयोजकले जनाएका छन् । कार्यक्रममा विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको निर्यात हुने गरी उद्योग व्यवसाय संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय सोमप्रसाद पाण्डे र नारायण प्रसाद आचार्य, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टंकप्रसाद पोखरेल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीलगायतको उपस्थिति रहेको थियो ।