काठमाडाैं - सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् ।
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई आज सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गरेका हुन् ।
विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उनले उक्त फाउण्डेशनको प्रशंसा पनि गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्व सामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई उहाँले सुझाव पनि दिए ।
यो संसारमा नेपाली नपुगेको ठाउँ कमै रहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै उनले भने, “विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित यो विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले नेपाललाई विश्वमै चिनाउन ठूलो योगदान गर्छ भन्नेमा म विश्वस्त छु ।”
“नेपालीपन जोगाउनका लागि नेपाली कला, संस्कृति कसरी जोगाउने भन्ने विषयमा फाउण्डेसनले जुन काम गरेको छ, त्यो निकै सराहनीय छ । हाम्रो कला, धर्म र संस्कृतिको देश विदेशमा यसरी नै जगेर्ना होस् भन्ने मेरो र प्रतिनिधिसभाको तर्फबाट यहाँहरु सबैमा आग्रह छ”, सभामुख घिमिरेले भने ।
विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् ।
नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।
‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि र ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ ।
गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई रु २० लाख पुरस्कार रहेको छ ।
संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच दुई महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् । ती प्रतिभाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतले भेटेर शुभकामना दिएको छ ।
आज सभामुखसँग ती प्रतिभाहरुले पनि आफूहरुले नेपाली भाषामा गीत गाउन तथा नेपालमा आएर नृत्यसहितको आफ्नो प्रतिभा देखाउन पाएकामा खुसी व्यक्त गरेका थिए । सो कार्यक्रममा अमेरिकाका मोन मगर, म्यानमार–थाइल्याण्डका पुनाराम र खुसी कार्की, संयुक्त अरब इमिरेट्सबाट राजेश लिम्बू, पोर्चुगलबाट सुवास थापामगर, भारतबाट साइराज खातीलगायतकाभ कलाकारले सभामुख घिमिरेसँग जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० २१:५३