के पूर्वराजा हिँड्न नपाउने ? जनताले सम्मान गर्न बोलाउँदा जान नपाउने ? देश डुब्न लाग्दा बोल्न नपाउने ?
फणिराज पाठक, पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्रले जनताको शक्तिसामु झुक्दै नासोका रूपमा रहेको श्रीपेच जनतालाई नै सुम्पेर राजगद्दी त्याग गरेको १५ वर्ष पुग्न लागेको छ । उनको हैसियत त्यसयता नागरिकको रूपमा छ ।
तर, २०६२/६३ को जनआन्दोलनमा सरिक भएर ज्ञानेन्द्रलाई सत्ताच्युत गरेका राजनीतिक दलहरूका अनुसार भने उनको पछिल्लो सक्रियता नागरिकको नभई राजाको हैसियतमा जसरी भइरहेको छ । उनको यसप्रकारको सक्रियतालाई दलहरूले ठीक ठानेका छैनन् । उनी भने लगातार राजाकै भूमिकामा पदासीन भएको आभाष दिनेगरी देशदर्शनमा छन् ।
सोमबार उनी देशको पश्चिमी क्षेत्र सहर धनगढी पुगे । त्यहाँ नागरिक अभिनन्दन ग्रहण गरे र राजतन्त्र फर्काउन जनतालाई उक्साउँदै भने– अब सोच्ने बेला आएको छ । भारतको संस्थापन पक्षले हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नेपाली नेताहरूलाई पैसा दिने गरेको दाबीसहितको अमेरिकी प्रतिवेदन सार्वजनिक भएको अवस्थाबीच पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्ति आएको हो ।
पूर्वराजालाई राजसंस्थालाई ब्युँताउने र अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट छैन ।
देवेन्द्र पौडेल, सांसद, माओवादी केन्द्र
केही महिनाअघि देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा पुगेर पनि उनले अभिनन्दन ग्रहण गर्दै यस्तै आशयको अभिव्यक्ति दिएका थिए । यही मामिलामा केन्द्रित रहेर उनका संवादसचिव फणिराज पाठकलाई प्रभाव सम्वाददाताले सोधेका छन्, ‘के राजतन्त्र फर्काउन पूर्वराजाको सक्रियता भइरहेको हो ?’ ठकले यसलाई इन्कार गर्दै प्रतिप्रश्न गरे, ‘के पूर्वराजा हिँड्न नपाउने ? जनताले सम्मान गर्न बोलाउँदा जान नपाउने ? देश डुब्न लाग्दा बोल्न नपाउने ?’
२३ असार २०७६ मा सार्वजनिक भएको ज्ञानेन्द्रको ‘सन्देश संग्रह’मा उल्लेख भएको विवरणअनुसार २९ जेठ २०६५ मा पत्रकार सम्मेलन गर्दै उनी उदारतापूर्वक परिवर्तनकारी शक्तिहरूबाटै यो मातृभूमि (देश)को उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएका हुन् ।
पूर्वराजाको हैसियतले जनताले बोलाउँछन् र सम्मान गर्छन् भने त्यो आपत्तिको विषय होइन । तर, उनले अहिले व्यवस्थाविरोधी र संविधानविरोधी गतिविधि बढाएको देखिन्छ । यो त आपत्तिको विषय भयो । सरकार चनाखो हुनुपर्ने देख्छु ।’- तारा लामा तामाङ,सांसद, नेकपा एमाले
तर, देशको उत्तरोत्तर प्रगति नभई देश संकटमा फसेको भन्दै उनी घरिघरी चिन्तासमेत व्यक्त गर्दै फेरि आफ्नो भूमिका आवश्यक भएको घुमाउरो शैलीमा बताउँछन् ।यतिसम्म कि गत वर्षको ७ फागुनमा प्रजातन्त्र दिवसको सन्देश दिँदै उनले ‘श्री ५ बडामहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ लेख्न भ्याएका थिए । जबकि, उनी नागरिकको हैसियतमा छन् । तर, बहालवाला राजा भएजसरी सन्देश जारी गरेपछि उनको कडा आलोचना दलहरूबाट भएको थियो ।
भाजपाले भन्दा पनि नेपाली जनता पूर्वराजालाई अभिभावकीय भूमिकामा देख्न चाहन्छन् ।-सगुनसुन्दर लावती, प्रवक्ता, राप्रपा
अहिले पनि उनी संविधानले अस्वीकार गरेको राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना खातिर अघोषितरुपमा सक्रिय भइरहेका छन् । राजसंस्थालाई ‘सामन्तवादको प्रतीक’ र राजालाई ‘सामन्तवादको नाइके’ भन्दै दुवैको समुल अन्त्यलाई समेत राजनीतिक एजेण्डा बनाएर सशस्त्र विद्रोह गरेको दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल देशलाई पछाडि फर्काउने पूर्वराजा ज्ञानेन्द्र गतिविधिमा अकुंश लगाउनुपर्ने बताउँछन् ।
उनले थप भने, ‘पूर्वराजालाई राजसंस्थालाई ब्युँताउने र अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट छैन ।’ यदि, राजतन्त्र फर्काउने र फेरि राजा हुने चाहना नै भए दल खोलेर जनतामा आउन उनको चुनौती छ । ‘लोकतन्त्रमा दल खोल्ने र राजनीति गर्ने छुट एक जना नागरिकको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई छ । त्यसरी आए भइहाल्यो । तर, अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट उनलाई नभएको पौडेलले चेतावनी दिए ।
पूर्वराजा ज्ञानेन्द्र भने छ महिनाअघि भएको निर्वाचनको परिणामले हौसिएका छन् । किनभने, निर्वाचनमा व्यक्त अभिमतले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा घन्काउने राजा र हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीतिक शक्ति बढायो । संघीय संसद्देखि प्रदेश संसद्सम्मै यो दलको आकार पाँच वर्षअघिभन्दा बढेको छ ।
अर्कातिर, राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन छन् र राप्रपादेखि अलग भएका नेता कमल थापाका अनुसार राप्रपामा ज्ञानेन्द्रको प्रभाव पनि बढेको छ । उनकै शब्दमा राप्रपा अध्यक्षमा भएको आफ्नो हार ज्ञानेन्द्रको हस्तक्षेपले हो । तर, के देखिन्छ भने ज्ञानेन्द्रको अघोषितरूपमा राजनीतिक सक्रियता बढ्दो छ ।
राजतन्त्र विरोधी अर्को दल नेकपा एमालेका सांसद तारा लामा तामाङ अहिले पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई नियमन गर्नुपर्ने बताउँछन् । उनले पूर्वराजा ज्ञानेन्द्रले संविधानले नचिन्ने भूमिकामा रहेर व्यवस्था र संविधान विरोधी गतिविधि गरिरहेको बताए । त्यस्ता गतिविधिप्रति सरकार चनाखो हुनुपर्ने सांसद तामाङलाई लागेको छ ।
पूर्वराजाको हैसियतले जनताले बोलाउँछन् र सम्मान गर्छन् भने त्यो आपत्तिको विषय होइन । तर, उनले अहिले व्यवस्थाविरोधी र संविधानविरोधी गतिविधि बढाएको देखिन्छ,’ सांसद तामाङले भने, ‘यो त आपत्तिको विषय भयो । सरकार चनाखो हुनुपर्ने देख्छु ।’
फेरि, छिमेकी देश भारतमा कट्टर हिन्दूवादी दल भारतीय जनता पार्टी (भाजपा) लगातार सत्तामा छ । नेपाललाई हिन्दूराष्ट्र बनाउने दलको चाहना हो । भूराजनीतिक मामिलाका जानकारहरूका अुनसार राजा पनि फर्काउने यो दलको अभिष्ट छ । त्यही भएर पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएको हुन सक्ने विश्लेषण भइरहेको छ ।
राजावादी दल राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीचाहिँ नेपाली जनताले राजालाई अभिभावकीय भूमिकामा देख्न भन्छन्, ‘भाजपाले भन्दा पनि नेपाली जनता राजालाई अभिभावकीय भूमिकामा देख्न चाहन्छन् ।’तर, लावतीको यस्तो दाबीलाई भने गत मंसिरमा भएको निर्वाचनको मतपरिणामले खारेज गरिदिएको छ ।
यदि, बहुसंख्यक जनता देशमा फेरि राजा चाहन्थे भने राप्रपाको बहुमत निर्वाचनमा आउँथ्यो । यद्यपि, राप्रपा राजा फर्काउन बल गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्र पनि अनुकूल परिस्थिति निर्माणमा कसरत गरिरहेका छन् । पूर्व जाँदा व्यवसायी दुर्गा प्रसाईं प्रयोग गर्ने उनी पश्चिममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपा महामन्त्री डा. धवलशमशेर राणा प्रयोग गरिरहेका छन् ।
उनी दुईपटक राजा भइसकेको व्यक्ति हुन् । पछिल्लोपटक १९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि राजा भएका उनले १९ माघ २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गर्दै संविधानका केही धाराहरू निलम्बन गरेर प्रत्यक्ष शासन सुरु गरेका थिए । यो कदम नेपाली राजनीतिक इतिहासमा ‘ज्ञानेन्द्रको कू’ भनेर चर्चित छ ।
यसविरुद्ध तत्कालीन सात दल सडकमा ओर्लिए । विद्रोही दल नेकपा माओवादीसँगै सात दलको सहकार्य भयो । अन्ततः २०६२÷६३ को १९ दिने दोस्रो जनआन्दोलनले ज्ञानेन्द्रलाई घुँडा टेकायो । राजगद्दी त्याग्दै पूर्वराजाको हैसियतमा पुर्यायो । यद्यपि, उनै ज्ञानेन्द्र फेरि राजा हुन सक्रिय भइरहेका हुन् ।