काठमाडौं - युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी र खेल पत्रकारलाई आज सम्मान गरेको छ ।मन्त्रालयद्धारा आज आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबाहदुर लिम्बु, मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलगायतले राष्ट्रिय खेलकुद प्रतिभा र खेल पत्रकारलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा मन्त्री लिम्बुले खेलाडी राष्ट्रका गहना र पत्रकार देशलाई चिनाउने महत्वपूर्ण भूमिका खेल्ने माध्यम भएकाले प्रोत्साहनस्वरुप सम्मान गरेको बताए । उनले खेलक्षेत्रको विकासको लागि आधारभूत आवश्यकता पूरा गर्न कुन प्रदेशमा के आवश्यकता छ त्यसको पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री लिम्बुले खेलकुदमा पर्याप्त बजेट नभएको बताउर्दै यसको लागि आफनोतर्फबाट विशेष पहल गर्ने बताउनुभयो । मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट सेतोपाटी अनलाईनका सिताराम कोइरालालाई सम्मान गरेको छ ।
यसैगरी मन्त्रालयले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट कोशी प्रदेशका अर्जुनकुमार सुवेदी, मधेस प्रदेशका संजिवकुमार शाह, बागमती प्रदेशका सुवास विडारी, गण्डकी प्रदेशका धनबहादुर गुरुङ, लुम्बिनी प्रदेशका विजय नेपाल, कर्णाली प्रदेशका ललितबहादुर बुढा र सुदुरपश्चिम प्रदेशका पूर्णबहादुर खड्कालाई सम्मान गरेको छ । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ ज्योति कटुवाल र दिपक परियार सम्मानित भएका हुन् ।
यसैगरी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका निरज देउवा, गिता विष्ट, र प्रेमकुमार दर्नाल सम्मानित भए ।पारा खेलाडीतर्फ रामबहादुर तामाङ सम्मानित भए भने प्रशिक्षकतर्फ करातेका तारा श्रेष्ठ गुरुङ सम्मानित भए ।
त्यस्तै निर्णायक/ रेफ्रीतर्फ तेक्वान्दोका दिपेन्द्र ढकाल र खेल चिकित्सकतर्फ प्रा.डा नवीसमान सिंह प्रधान सम्मानित भए ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिवप्रसाद गौतम सूर्यप्रसाद देशलाई चिनाउने महत्वपूर्ण माध्यम खेलकुद भएको बताउदै निर्माणधिन मुलपानी क्रिकेट मैदानमा न्यून बजेटका कारण पूरा हुन नसकेको बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० २२:०४