काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन प्रशिक्षण वर्ष २०८० को शुभारम्भ गरेका छन् ।
नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो ।
स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए।
“स्थापना दिवसका अवसरमा ‘अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको छौँ”, महसचिव पौडेलले भने ।
युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।