हरेकपटक आउने गृहमन्त्री र प्रहरीका प्रमुखले शान्ति, सुरक्षा मात्र नभएर अब प्रहरी साँच्चिकै जनताको पक्षमा लाग्ने बताउँदै आएका छन् । खासगरी प्रहरीमा बढुवाका लागि ब्रिफकेस लिएर नेता वा शक्ति केन्द्र धाउने संस्कार बसेपछि मुलुकमा न्याय मरेको छ । गृहमन्त्रीको नाममा आफन्तले गुन्डागर्दी मात्र होइन, अपहरणजस्तो गम्भीर अपराधमा संलग्न भएपछि गृहमन्त्रीको शान्ति सुरक्षाको कुरा केवल भएको देखिन्छ । त्यसमाथि प्रहरी संगठन त भ्रष्टाचारका नाममा सधैँ नमिठो बास्ना आउने थलोका रूपमा परिचित छ । कानुनी राज्यमा प्रहरी भन्नेबित्तिकै कार्यपालिकाको महत्वपूर्ण अंग हो । तर, प्रहरी नै बलात्कार, लुटपाट, कुटपिट, गुन्डागर्दी, तस्करीमा लाग्ने वा यस्ता काम गर्नेको संरक्षक भएर बस्न थालेका छन् । त्यसैले अहिले प्रहरी भन्नेबित्तिकै आमनागरिकमा नकरात्मक सोच विचार आउन थालेको छ ।
तर, गृहमन्त्रीले भने इच्छाशक्ति भए पाँच वर्षको काम पाँच महिनामै गर्न सकिने भनी भाषण गर्छन् । कम्युनिस्टको सरकार भएका बेला मन्दिरमा पूजाअर्चना गरेर पदभार सम्हाल्ने प्रहरीले धर्मलाई हेरेर काम गर्छन् कि कानुनलाई ? तालुकदार मन्त्रीले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने भने पनि प्रहरीमाथि लागेको विभिन्न आरोपबाट नवनियुक्त प्रमुखले चोख्याउलान् त ? सक्दैनन् किनभने शक्तिको पूजा गर्ने र शक्तिविहीनको आवाज नसुन्ने संस्कार प्रहरीमा संस्थागत नै भइसकेको छ । प्रहरीका अधिकृतको साइकल हराउँदा तुरुन्तै पत्ता लगाउने प्रहरीले कञ्चनपुर बलात्कार काण्डलाई पत्ता लगाउनै चाहँदैन । सो काण्डमा ठूला व्यक्तिहरू सामेल थिए कि थिएनन् ? त्यो कुरा दैव जानून् तर पीडित बिनापहुँचका थिए । सर्वसाधारणको ज्यान, इज्जतको कुनै मूल्य छैन । यहाँ ठूलाको मात्र ज्यान र इज्जतको ख्याल गरिन थालिएको छ । त्यसैले सरकारले भनेजस्तो पाँच महिनामा ठूलो काम हुनेवाला छैन ।
प्रहरीले इच्छाशक्ति देखाउने हो भने थोरै समयमा ठुल्ठूला काम सम्पन्न हुन्छन् । प्रहरी इमानदार हुने हो भने अहिले मुलुकमा व्याप्त सबै अनियमितता छु मन्तरमा समाधान हुन्छ । यसको ज्वलन्त उदाहरण सिंगापुर नै छ । प्रहरी इमानदारितका साथ अघि बढ्ने हो भने कोही कसैले पनि कानुनको उल्लंघन गर्ने हिम्मत गर्ने छैनन् । तर, यहाँ प्रहरी नै बिकुवा भएका छन् । प्रहरीले गलत व्यक्तिहरूलाई संरक्षण गर्दा आमनागरिकले सुरक्षित महसुस गर्न सकेका छैनन् । अधिकांश प्रहरी अधिकृतहरू गलत व्यक्तिको चंगुलमा फस्दै आएका छन् । प्रहरीको निकम्मापनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० क्विन्टल सुन भित्रिरहेको छ । एक सर्वसाधारण नागरिक घर नछिरिन्जेलसम्म उस्ले आफू सुरक्षित महसुस गर्न सक्दैनन् । गरिबसँग हज्जारौँ घुस लिने तर ठालूहरूलाई भने कानुनलाई आफू अनुकूल परिभाषित गरेर छुट दिने काम प्रहरीबाट भइरहेको छ । केही कमिसनका नाममा प्रहरीले आरोपको फाइल नै कमजोर बनाएर अदालतमा पेस गर्ने र उनलाई क्लिन चिट दिने काम प्रहरीबाट भइरहेको छ । यत्ति सुधार्ने हो भने प्रहरीको छबि फर्किन सक्छ तर प्रहरी प्रमुखहरू सबै शक्तिकेन्द्रबाट निर्देशित हुनाले उनीहरू सुधार होइन, आफ्नो दुनो सोझ्याउने कामभन्दा अर्को काम नगर्दा प्रहरीको छवि फर्किनेमा शंका गर्दा फरक पर्दैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६ ०८:३६