काठमाडाैं - बैंकहरुले महँगो ब्याजदर पेश गरेपछि राष्ट्र बैंक आफैले ६ अर्ब रुपैयाँ ऋण सरकारलाई दिएको छ। सरकारलाई आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले बिक्रीमा ल्याएको ट्रेजरी विल्समा बैंकहरुले ब्याजदर नघटाएपछि केन्द्रिय बैंक आफैले सरकारलाई ऋण दिएको हो।
सरकारले आइतबार केन्द्रिय बैंक मार्फत २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स बिक्री गरी ऋण उठाउन लागेको थियो।कुल २९ अर्ब १३ करोडमध्ये ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल्स बिक्री गर्ने र बाँकी २५ अर्ब १३ करोड रुपैयाँ नवीकरण गर्न लागेको थियो।
नवीकरण गर्न लागेको विल्समध्ये २८ दिने ४ अर्बको, ९१ दिनेको १३ अर्ब १३ करोडको, १८२ दिने ६ अर्ब र ३६४ दिने १२ अर्ब रुपैयाँको थियो। उक्त ट्रेजरी विल्समध्ये ९१ दिन अवधिको ३ अर्ब ११ करोड र १८२ दिन अवधिको ३ अर्ब १७ करोड रुपैयाँको ट्रेजरी विल्स बैंकहरुलार्य नदिई केन्द्रिय बैंक आफैले खरिद गरेको छ।
उक्त ट्रेजरी विल्समा बैंकहरुले ९.२७ प्रतिशतसम्म ब्याजदर तोकेर बोलकबोल पेश गरेका थिए।केन्द्रिय बैंकको अनुसार आइतबार बिक्री गरेको ट्रेजरी विल्समा २८ दिन अवधिको विल्सकाे दर ७.५४ प्रतिशत कायम भएको छ भने ९१ दिन अवधिको ९.१६ प्रतिशत, १८२ दिन अवधिको ९.१३ प्रतिशत र ३६४ दिन अवधिको ८.८० प्रतिशत कायम भएको छ।
पछिल्लो समय राजस्व संकलनमा कमी आइरहेको बेला सरकारले स्रोत जुटाउन धमाधम आन्तरिक ऋण उठाइरहेको छ। अहिले सरकारले लक्ष्य राखे अनुसार बैदेशिक ऋण समेत लिन सकेको छैन। यसले गर्दा आन्तरिक ऋणमानै बढी जोड दिइरहेको छ।
अहिले एक बैंकले अर्को बैंकबाट लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर पनि ७ प्रतिशतमा झरेको छ। बैंकहरुले एकअर्काबाट ७ प्रतिशत ब्याजदरमा सापटी लिइरहेका छन्। राष्ट्र बैंकबाट सापटी लिँदा साढे ७ प्रतिशत ब्याजदर तिर्नु पर्ने छ। तर सरकारले भने बजारबाट ऋण उठाउँदा ९ प्रतिशतभन्दा धेरै ब्याजदर तिर्नुपरेको अवस्था छ।
ट्रेजरी विल्सको दर धेरै हुँदा सरकारले बढी ब्याज तिर्नुपर्ने हुन्छ भने यसले सरकारलाई आन्तरिक ऋणमा बढी ब्याजभार पर्न जान्छ। राजस्व घटेर वित्तीय स्रोत जुटाउन कठिन भएको अवस्थामा सरकारलाई जसरी पनि आन्तरिक ऋण उठाउनु नै पर्छ भन्ने बाध्यता बुझेकोले पनि बैंक तथा वित्तीय संस्थाले बढी ब्याज राखेर बोलकबोल पेश गरिरहेका छन्।
आइतबार बिक्रीमा ल्याएको ट्रेजरी विल्समा भने केन्द्रिय बैंकले ब्याजदर घटाउन बढी ब्याजदर पेश गर्ने बैंकहरुलाई विल्स बिक्री नगरी आफैले विल्स खरिद गरेर सरकारलाई ऋण दिएको हो।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १४:२९