काठमाडौं - आगामी आर्थिक वर्षको बजेट पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले बजेट प्रणालीमा देखिएका समस्या सुधार गर्ने गरी बजेट निर्माण गरेको बताएका हुन् ।
मन्त्री महतले भने,‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ, त्यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’
मन्त्री महतका अनुसार ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको छ । ‘चालु आर्थिक वर्षमा विकास बजेट ४ खर्ब ७१ अर्ब विनियोजन गरिएको छ,’ महतले भने,‘हामीले पुँजीगत खर्चलाई मात्रै विकास बजेट भन्नु हुँदैन ।’
उनले आगामी दिनमा बजेटमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन आफू प्रतिवद्ध रहेको बताए । बिक्रेताले विद्युतीय गाडीमा ठूलो मार्जिन लिएकाले गाडीको उपभोक्ता मूल्य बढी भएको उनको भनाइ थियो । सरकारले आगामी दिनमा इभीलाई प्रवर्धन गर्ने योजना बनाएको महतले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १४:४९