काठमाडाैं - कोशी प्रदेश नामाकरणको विषयलाई लिएर लगातार आन्दोलन भइरहँदा नेपाली कांग्रेसका जिल्ला सभापतिहरू बोलेका छन् ।
कोशी नामको विरोध गर्दै सो नाम परिर्तन गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला सो प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नामाकरणमाथि पुनर्विचार गर्न माग गरेका हुन् ।
संघीयमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
यसैगरी सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
उनीहरूले नामाकरणमा पुनर्विचार गर्न प्रदेशसभासँग माग गरेका छन् । प्रदेशमा भइरहेको यो आन्दोलनको समाधान कांग्रेसकै नेतृत्वमा समाधान हुनुपर्ने कांग्रेस सभापतिहरूले जनाएका छन् । यो समस्या समाधानका लागि पहलकदमी लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १४:४४