हुबेई–चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्याधिक रहेको यस क्षेत्रमा शुरु गरिएका ती अस्पतालहरूमा ६ हजार ९६० श्यया रहेका छन् ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरूले दिएको जानकारीअनुसार ती अस्पतालहरूमा कोरोना भाइरसबाट सङ्क्रमित पाँच हजार ६०६ जनाको उपचार भइरहेको छ । उहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरू शुरु भएको जानकारी दिएको हो ।
अस्थायी अस्पतालमा सेवा शुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरूले राहत महसुस गरेका छन् । रोगको प्रकोप न्यूनीकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरूबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिरामीहरूले राम्रो उपचार सेवा पाइरहेको बताएका छन् भने कतिपय बिरामीहरू उपचारपछि घर फर्किएका छन् । (रासस÷सिन्ह्वा)