काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा ‘तेस्रो गुट’ बनाउने अभियानमा लागेका छन् । पार्टीमा आफ्नै गुटका नेता डा. शेखर कोइरालाले कुनै भाउ नदिएपछि महामन्त्री थापा तेस्रो गुट निर्माणतिर लागेका हुन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै थापा तेस्रो गुट निर्माणतिर लागेका थिए । ‘आफ्नै गुटको मत नआएपछि थापा शेखरसँग रुष्ट देखिएको त्यतिबेलादेखि नै हो,’ गगननिकट एक नेताले भने ।
पछिल्लो समय शेखर पक्षले आयोजना गर्ने कार्यक्रममा गगन देखिँदैनन् । मन्त्रिपरिषद् विस्तारमा आफ्ना भागमा कोही नपरेपछि गगन शेखरसँग थप रुष्ट बनेका छन् । मन्त्रिपरिषद् विस्तारमा देउवाले शेखर समूहका धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मन्त्री दिँदा थापाको टिमबाट कोही परेनन् । त्यतिबेला थापाले लिम्बूलाई मन्त्री बन्नबाट रोक्न खोजेका थिए । ‘थापाले डिगबहादुरलाई रोक्न खोज्दा मन्त्रिपरिषद् विस्तारमै ढिलाइ भएको थियो,’ कांग्रेस सभापति देउवानिकट एक नेताले भने ।
शेखर र गगनको टकरावका कारण अहिले संस्थापनइतर समूह कमजोर बनेको छ । देउवाले नौ महिनायता केन्द्रीय समिति नबोलाउँदासमेत संस्थापनइतरका नेताहरु चुइक्क बोल्न सकेका छैनन् । महाधिवेशनपछि गठन हुनुपर्ने विभागहरु गठन नगर्दा पार्टी भद्रगोल छ । यही मेसोमा संस्थापनइतरले कांग्रेस रुपान्तर अभियान सुरु गरेको छ ।
यस अभियानमा न त शेखर देखिएका छन् न त गगन नै । मधेस प्रदेश र बागमती प्रदेशमा रुपान्तर भेला सक्दा देउवाको नेतृत्वमा पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्ष निस्केको छ । यस अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, रञ्जित कर्ण, गुरु घिमिरे, प्रा.डा. गोविन्द पोखरेललगायत देखिएका छन् । गगन पक्षले आफ्नो टिमबाट साथ नरहेको भने पनि शेखर समूहले यसबारे मुख खोलेका छैनन् ।
-
शेखर र गगनको टकरावका कारण अहिले संस्थापनइतर समूह कमजोर
-
संस्थापनइतरले कांग्रेस रुपान्तर अभियान सुरु गरे पनि यस अभियानमा न त शेखर देखिएका छन् न त गगन नै
-
युवा नेताहरुलाई काखी च्याप्दै महाधिवेशनमा चर्चामा आउने सिटौलालाई एकपछि अर्को नेताले छाडेपछि उनी अहिले गुपचुप छन्
थापालाई ककसको साथ ?
महामन्त्री थापालाई मंसिरको निर्वाचनपछि कांग्रेस वृत्तमा आफ्नै उम्मेदवार हराउन लागिपरेको आरोप लाग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर मनिष झा, शिशिर खनाललगायत निर्वाचित भएपछि उनीमाथि यस्तो आरोप लागेको हो । आफ्नो क्षेत्र काठमाडौं–४ मा रास्वपाको उम्मेदवार नउठाउँदा थापालाई झनै शंकाको दृष्टिले हेरे कांग्रेस वृत्तले । रास्वपालाई घण्टी कांग्रेसको उपमासमेत दिइयो । यसको नेतृत्व गगनले नै गरेको कतिपयको आरोप थियो ।
यसैले हुनसक्छ उपनिर्वाचनमा महामन्त्री थापालाई कांग्रेसले तनहुँ–२ मा उता¥यो, चुनावी कमाण्डरका रुपमा । गगन स्वर्णिमविरुद्ध खनिए । ‘गगनको एग्रेसिभ बानी पहिल्यैदेखिको हो । त्यहाँ आफ्नो पारा देखाइहाले,’ कांग्रेसका एक नेताले भने । पार्टी सभापति देउवा र देउवापत्नी आरजुको हेपाहा शैलीका कारण कांग्रेस छाडेको बताउने स्वर्णिमलाई यतिको ‘एन्टी स्पिच’ बाहेक के चाहियो र उनी जितिहाले निर्वाचनमा । बरु गगनमाथि देउवा नेतृत्व नरुचाउनेहरु नै खनिन थाले यही भाषणका कारण ।
निर्वाचनअघि बलियो ‘पोजिसन’मा देखिएका गगन उपनिर्वाचनपछि कमजोर देखिए । कारण आफ्नो टिममा भएका विज्ञ नेताहरु रास्वपातिर लाग्नु । शेखरले पनि अदृश्य रुपमा पेल्नु । यससँगै गगन अहिले गुट निर्माणमा लागेका हुन् । गगनलाई यसपटक अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले साथ दिने देखिन्छ । अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि गगनका साथमा छन् । अरु नेताहरु भने गगनको पक्षमा खुलेका छैनन् । गुट निर्माणमा लागे पनि यो रुपान्तरणको अभियानमात्र भएको गगन पक्षधर नेताको दाबी रह्यो । ‘कांग्रेस सकिएकै गुटले हो । त्यसैले पहिले पार्टी जोगाउन हाम्रो अभियान हो,’ ती नेताले भने ।
‘तेस्रो गुटको छैन भविष्य’
कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले निर्माण गरेको कोइराला गुट र कृष्णप्रसाद भट्टराईले निर्माण गरेको अर्को गुट यथावत् रहेको छ । कोइराला गुटको नेतृत्व सुशील कोइराला हुँदै अहिले डा. शेखरले सम्हालेका छन् । यो गुटलाई रामचन्द्र पौडेलले नेतृत्व गर्न खोजे पनि नसकेपछि अहिले उनी शितलनिवासमा साइड लागेका छन् । यता कृष्णप्रसाद गुटको नेतृत्व भने देउवाले सम्हालेका छन् ।
यो बीचमा कृष्णप्रसाद सिटौलाले थर्ड पोलका रुपमा आफूलाई उभ्याएका थिए । युवा नेताहरुलाई काखी च्याप्दै महाधिवेशनमा चर्चामा आउने सिटौलालाई एकपछि अर्को नेताले छाडेपछि उनी अहिले गुपचुप छन् । १३औं महाधिवेशनमा गगनलाई उचाई दिएका थिए सिटौलाले । १४औं महाधिवेशनमा गगन उछिट्टिएर शेखर गुटतिर लागे ।
त्यसको झोंकमा प्रदीप पौडेललाई काखी च्यापेका सिटौला अहिले रित्तिएका छन् । महामन्त्रीमा हारेका पौडेललाई देउवाले काठमाडौं ५ बाट जिताएर मन्त्री बनाउने तयारी गरेका थिए । तर, पौडेल आफै सिटौला गुट छाडेर गगनको लाइनमा उभिए । यो सँगै प्रदीपलाई देउवाको किचेन टिममा प्रवेश दिइएको छैन । यी दुई घटनालाई दाँज्दै कतिपयले कांग्रेसको तेस्रो गुटलाई ‘दोबाटो’समेत भन्ने गर्छन् ।