प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिणी छिमेकी देश भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनको भ्रमण कति उपलब्धिपूर्ण भए भन्नेबारे पक्ष र विपक्षमा बहस चलिरहेको छ । ऊर्जा व्यापार, पारवहनसहित द्विपक्षीय हितका केही महत्वपूर्ण सम्झौता भएका छन् ।
ती सम्झौताहरूको पूर्ण कार्यान्वयन हुँदा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ । अर्कोतर्फ नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर बनाइराख्न भ्रमणले विशेष महत्व राखेको छ । यस हिसाबले प्रधानमन्त्री दाहालको भ्रमणलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
तर, उनको भ्रमणका क्रममा सीमा विवादलगायत महत्वपूर्ण विषयहरु उठाउने अपेक्षा गरिएको थियो । ती विषय दाहालको यो भ्रमणमा एजेण्डा नै बन्न सकेन । नेपाल–भारत सीमासँगै असमान सन्धिहरूको पुनरवलोकन गर्नेबारे अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन बुझ्नेबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेनन् ।
हालै भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को चित्रमा नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई समेटिएको विषय पनि यो भ्रमणका क्रममा राख्न सकेनन् । राष्ट्रियतासँग सम्बन्धित यो विषय उठाउनबाट प्रधानमन्त्री दाहाल चुकेका छन् ।
भारत भ्रमणबाट फर्किनेक्रममा शनिबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसमक्ष उनले इपिजीको कुरा उठाएर वातावरण बिगार्न नचाहेको भन्दै पन्छिए । यसबाट उनी विवादित हुने बहानामा राष्ट्रहितका मुद्दाहरूलाई उठाउनै चाहँदैनन् भन्ने देखिएको छ जुन ठीक होइन । उनले ‘वान टु वान’ भेटवार्तामा यो विषय उठाएको भए इपिजी प्रतिवेदन बुझेर कार्यान्वयन गर्न मोदीमाथि थप नैतिक दबाब पर्ने थियो । तर, प्रधानमन्त्रीकै बेवास्तामा इपिजी प्रतिवेदनको मुद्दा पर्यो ।
इपिजी प्रतिवेदन कार्यान्वयनमा नेपाल पहिलेदेखि नै सकारात्मक हो । भारतले भने चासो देखाएको छैन । प्रधानमन्त्री मोदीले यसमा आनाकानी गरिरहेका छन् । अझैसम्म प्रतिवेदनसमेत बुझेका छैनन् । उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले इपिजी प्रतिवेदन बुझेर कार्यान्वयन गरिए ‘भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूलता’ हुन सक्ने सुझाव दिएको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ । डोभलको सल्लाहले पनि मोदी इपिजी प्रतिवेदनबारे सकारात्मक नभएको भन्ने बुझ्न सकिन्छ ।
प्रतिवेदन यदि कार्यान्वयन भए नेपाल–भारतबीच विभिन्न समयमा भएका असमान सन्धिहरूको पुनरवलोकनसँगै सीमा समस्या समाधान हुने जानकारहरु बताउँछन् । यति महत्पूर्ण विषय प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँगको भेटवार्तामा नउठाउनु गम्भीर चासोको विषय बनेको छ । प्रधानमन्त्री दाहालले भने आफ्नो भ्रमण ऐतिहासिक भएको दाबी गरेका छन् । उनको दाबी स्वाभाविक भए पनि समग्रमा यसपटकको भ्रमण पनि बढी औपचारिकतामै सीमित भएको देखिन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० ११:१६