जम्मुकाश्मिर - केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।
गत एप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेतीकिसानीसम्बन्धी समस्या हल गर्नु हो । समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकतासम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।
बीउबिजन, फलफूलखेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने विषयसम्म अनि पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धित सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकरीस्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो । किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।
कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीनदिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।
जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखको छ । सूचनाप्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।
काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्फत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्फत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।
आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।
-एएनआई
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १५:३४