अहिले नेताहरूमा ओज हराएको छ । जनताको नाममा शक्ति हातमा लिएपछि नेताहरूमा अराजकता बढेको देखिन्छ । झन् पछिल्लो समयमा त सरकारमा बस्नेले जे पनि बोले हुने अवस्था आएको छ । पूरा नगर्दा पनि केही नहुने भएपछि उसका लागि बोल्नुको कुनै अर्थ छैन । सत्तारुढ दलका कार्यकर्ताले सरकारको सुरक्षा गर्ने भएपछि नेताहरूमा बोल्न ठूलो कुरा रहेन । बाँकी रह्यो, जनता । अहिले मुलुकमा जनता देखिँदैनन्, सबै नागरिक कुनै न कुनै पार्टीका कार्यकर्ता भएकाले सरकारलाई पनि गज्जब हुने गरेको छ । आफूले गल्ती बोले पनि आफ्ना कार्यकर्ताले यसलाई ठीक भन्दै प्रचार गर्ने र अन्यले प्रश्न उठाए भने विपक्षी दलका कार्यकर्ताको ट्याग लगाउने संस्कार बसेपछि मुलुकमा नेताहरूको ओज घटेको छ । लोकतन्त्रमा दलले नै शासन सत्ता चलाउने हो, तर यहि प्रणालीमा नेताहरूको बोली अनियन्त्रित भएमा लोकतन्त्रमाथिको विश्वास हट्न सक्छ । त्यसबेला शासन व्यवस्थामाथि पनि धावा बोल्न सकिन्छ ।
अहिले सत्तारुढ दलबाट एक स्वर्गीय नेताको कुरा लिएर अनेकौँ प्रचार गरिन थालिएको छ । उनी नेता मात्र नभएर उनी साँच्चिकै लोकतन्त्र स्थापना गर्नका लागि अहोरात्र खटेका थिए । तर, आज तिनै नेताका विरुद्ध गम्भीर आरोप लगाइँदा यसले नेताहरूको ओजमाथि प्रश्न उठ्न थालेको छ । एक नेताले अर्का नेताको गलत तरिकाले उनको शेषपछि कुरा बाहिर ल्याउँदा नेताहरूको संस्कारमाथि प्रश्न उठ्न थालेको छ । हिजो तिनै नेताको पछिपछि लाग्ने तर आज उनको शेषपछि अनेकौँ बोल्दा बोल्ने नेताको बोलीमाथि प्रश्न उठ्छ । नेताले बोल्नु ठूलो कुरा होइन, तर त्यसमा लुकेको सत्यताले भने ठूलो अर्थ राख्छ । यदि नेताको भनाइ गलत भएको प्रमाणित भएमा नेताले फेरि राजनीति गर्ने कि नगर्ने ?
तत्कालीन सशस्त्र आन्दोलनले अनेकौँको काख रित्तिएको छ, अनेकौँको सिन्दुर पुछिएको छ । यसबेला आन्दोलनकारीभन्दा बाहिरका कोही नेताले जनता मार्न र आक्रमणको सिलसिला बढाउन उक्साउनै सक्दैनन् । यदि त्यसो गरेको भए सशस्त्र आन्दोलनकारी शान्ति प्रक्रियामा आउनेबित्तिकै यो कुराको पर्दाफास गर्नुपथ्र्यो । तत्कालीन सत्तापक्षले आन्दोलन बढाउने होइन, आन्दोलन निस्तेज पार्न अघि बढेको थियो । त्यसबेलाका कर्मचारी, प्रहर र सेनाहरू आज पनि छन् । उनीहरूले यस्तो कुरा जानेका हुन्छन् । तर, उनीहरूबाट यस्तो कुरा बाहिर आएको छैन । तत्कालीन सशस्त्र ओन्दोलनकारीले आफूहरूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको बताएर सत्तारुढ दलका सुप्रिमोले भन्नु सबैभन्दा गलत छ । माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने शान्तिका नायकको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न गर्नु केवल अराजनीतिक भन्न सकिन्छ । सत्तारुढ दलले यस्तो गैरजिम्मेवार कुरा गर्नु सबैभन्दा ठूला भुल भएको छ । निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ । माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न तत्कालीन सरकारले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको सबैमा छर्लंग छ । नेताले आफ्नो ओज राखेर नबोल्ने हो भने जनताबाट तिरष्कृत हुने दिन नआउला भन्न सकिँदैन ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०७:०६