काठमाडौं– भारतको ‘सेन्ट्रल ब्यूरो अफ सेकेण्डरी एजुकेसन’कोे सम्बन्धनबाट सञ्चालित राय स्कूलले यस वर्षको ‘सञ्चारकर्मी सम्मान’ रेडियो नेपालका संवाददाता यशोदा अधिकारीलाई प्रदान गरेको छ ।
नक्सालस्थित विद्यालयको नयाँ भवनमा शनिबार आयोजित २०औँ वार्षिकोत्सवमा सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले नगद रु ११ हजारसहित पत्रकार अधिकारीलाई सम्मान गरेका छन् ।
पत्रकारिता र साहित्यमा डेढ दशकदेखि कार्यरत उनी सञ्चारिका समूह र शिक्षा पत्रकार समूहमा समेत आबद्ध छिन् ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक दयानन्द झासहित उत्कृष्ट विद्यार्थी र कर्मचारीलाई काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजयकुमारले सम्मान गरे । कार्यक्रममा बोर्डको परीक्षामा सो विद्यालयका विद्यार्थीले विभिन्न विषयमा ९५ भन्दा प्रतिप्रतिशत ल्याई हरेक वर्ष उत्कृष्टमध्येको स्थान हासिल गर्दै आएको जानकारी गराइएको थियो ।
कार्यक्रममा न्यायाधीश सिन्हाले राय स्कूलको अत्याधुनिक भवन अवलोकन गर्दा आफूले विद्यालय उमेरमा पाल्पाको तानसेनमा बस्ने टेबुल, कुर्सी नपाएर बोरामा बसेर पढेको स्मरण गर्दै अहिलेको समयमा विद्यार्थीले सुविधासम्पन्न वातावरणमा पढ्न पाएको बताए । उनले विद्यार्थीलाई आत्मविश्वासयुक्त भई राम्रो नागरिक बन्न आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट बनाउन लाग्नुपर्ने र असल शिक्षा लिएर विद्यार्थीले देशकै लागि केही गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०७:५२