काठमाडौं– बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा शनिबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरेका थिए ।
नेपाल र बेलायतबीच पुरानो, घनिष्ट र न्यायो सम्बन्ध रही आएको छ । नेपालको लोकतन्त्र र आर्थिक विकासमा बेलायतबाट ठूलो सहयोग हुँदै आएको छ । नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेट गर्ने कार्यक्रम छ ।
त्यस्तै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उनले भेटवार्ता गर्ने बताइएको छ । बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरूको दृश्यावलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ । हालसम्म ठूलो संख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन् । विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन् । यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइँ पर्दै आएको छ ।
बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरूप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ । बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ । हाल तीन हजार ५ सयको संख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वार्षिक रूपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ ०७:५५