इरान - अफगानिस्तानका दुई हजार १०६ शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।
“इरानमा शरणार्थीका रूपमा वर्षाैंसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,“ विज्ञप्तिमा भनिएको छ ।
यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो ।गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।
२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १९:३५