आज विश्व वातावरण दिवस । देश तथा विदेशमा सरकार तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । वातावरण पञ्च महाभूतको संयुक्त रुप हो । जमिन, पानी, हावा, आकाश, आगो यी चिजविना जीवनको सम्भावना छैन ।
यिनै पञ्चमहाभूतलाई सन्तुलनमा राख्नु वातावरणलाई सन्तुलनमा राख्नु हो । पछिल्ला दिनहरुमा विविध कारणले जलवायु परिवर्तन हुने क्रम जारी छ । गर्मी नलाग्दै अत्यधिक गर्मी, गर्मीका दिनमा पनि जाडो, खण्डवृष्टि, अल्पवृष्टिजस्ता खलबली हेर्ने हो भने अहिले पृथ्वीको वातावरण बिग्रिएको छ । कृत्रिम वातानुकुलित वातावरण प्रकृतिका लागि चुनौती बनिरहेको छ ।
खानी उत्खनन् जारी छन् । वनजंगलमा डढेलो लाग्ने क्रम बढेको छ । कृषि उत्पादन बढाउन विषादीको प्रयोग बढाउँदा वातावरणलाई सन्तुलनमा राख्न अतिआवश्यक कीटाणुको नाश बढ्दो छ । नदी क्षेत्रमा माछा मार्न विषादी प्रयोग गर्ने, वन्यजन्तुलाई धराप थाप्न विषादीको प्रयोग, रुख कटान, यन्त्र तथा कारखानाका कारण पनि वातवरणीय प्रणाली खलबलिएको छ ।
प्राकृतिक चक्रलाई सन्तुलतमा राख्ने वन्यजन्तुको चोरीसिकारीले झनै वातावरण बिग्रिदै गएको छ । अहिले हिमाली क्षेत्रमा लामखुट्टे पुगेको छ भने प्रविधि तथा मानवीय विकासका कारण वातावरण सन्तुलनमा प्रभाव पारेको छ । कृषि पकेट क्षेत्रमा उत्पादन छाडेर कंक्रिट संरचना बढ्दो छ । त्यसैगरी वातावरणमैत्री सवारी र संरचनामा कुनै प्रोत्साहन छैन ।
यसपटक सरकारले बजेटमा वातावरण संरक्षणलाई पनि जोडेको छ । तर छैटौं नम्बरमा । पहिलो नम्बरमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रका विकासलाई राखेको सरकारले दोस्रोमा औद्योगिक विकासलाई राखेको छ । चौथो प्राथमिकतामा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई राखेको सरकारले छैटौं नम्बरमामात्र वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अटाएको देखिन्छ ।
कृषि उत्पादन होस् या पर्यटन, ऊर्जा विकास होस् या औद्योगिक विकास । यी सबै विषयका लागि पहिलो राम्रो चाहिने विषय भनेकै वातावरण हो । राम्रो वातावरण नभए कुनै पनि विषय फस्टाउन्न । पछिल्ला दिनहरुमा काठमाडौं सबैभन्दा प्रदूषित सहरको रुपमा मापन भएको घटनालाई सरकारले बिर्सनुहुन्न ।
त्यसैले सरकारले होस् या व्यक्तिले सबैभन्दा पहिले वातावरण जोगाउन ध्यान दिनुपर्छ । यस्तो विषयमा आदिवासी ज्ञान र स्थानीय चालचलनलाई प्रोत्साहन गर्नुपर्छ । पानीको मुल जोगाउन गरिने धार्मिक विधिका पूजा । रुख काट्दा अर्को रुख रोप्ने, कुनै स्थानको ढुंगा लैजाँदा बदलामा माटो वा सोही स्थानको ढुंगा ल्याउने, वन क्षेत्रमा प्रवेश गर्दा पूजाआज गर्नेजस्ता आदिवासी ज्ञान हुन् ।
पछिल्ला दिनहरुमा यी आदिवासी ज्ञानलाई अन्धविश्वास भन्दै मुल भत्काउने, जथाभावी डोजर चलाउने अस्वाभाविक घटनाले वातावरणीय चक्र नै बिगार्ने डरलाग्दो स्थिति पैदा भएको छ । त्यसैले सरकार बेलैमा सचेत बन्नुपर्छ । वातावरण संरक्षणलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १०:५४