काठमाडौं – स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्न्यास लिएका छन्। उनले ४१ वर्षको उमेरमा खेलजीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
पछिल्लो समय उनी इटालियन सिरिए क्लब एसी मिलानबाट फुटबल खेल्थे । उनी सन् २०२० मा एसी मिलानमा आबद्ध भएका थिए ।
पिचमा बोल्दै इब्राहिमोभिचले भने, ‘मसँग यहाँ धेरै सम्झनाहरू छन् र धेरै भावनाहरू बाँचेको छु, पहिलो पटक म यहाँ आइपुग्दा तपाईंले मलाई खुशी दिनुभयो। दोस्रो पटक माया।
म मेरो परिवार, मेरो नजिकका सबैलाई उनीहरूको धैर्यताको लागि धन्यवाद दिन चाहन्छु। म मेरो दोस्रो परिवार, खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छु। म (एसी मिलानका मुख्य प्रशिक्षक स्टेफानो) पियोली र उनका स्टाफलाई तपाईंले मलाई दिनुभएको जिम्मेवारीका लागि धन्यवाद दिन चाहन्छु। म अवसरको लागि व्यवस्थापकहरूलाई धन्यवाद दिन चाहन्छु। उनले भने ।
उनले विभिन्न क्लबका लागि पाँच सय ११ गोल गरेका छन् । एसी मिलानका अतिरिक्त उनले अर्को इटालियन क्लब इन्टर मिलानबाट पनि खेलेका थिए ।
यसैगरी उनले स्पेनिस क्लब बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।
इब्राहिमोभिचले विभिन्न चार राष्ट्रको ब्यवसायीक लिगमा घरेलु प्रतियोगिताको उपाधि जितेका छन् । सन्न्यास घोषणा गर्दा इब्राहिमोभिच निकै भावुक देखिएका थिए ।
PC: AP
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १०:४८