सरकारले यसपटकको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । सोमबारको संसद् बैठकमा यही बजेटको विषयमा छलफल गर्ने कार्यसूची थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा उठेका प्रश्नको जवाफ दिएपछि संसद्मा भैंसीकै विषयले हंगामा भयो ।
भारतले दिएको उन्नत जातको १५ मुर्रा राँगो भित्रिँदा खुसी हुनुपर्नेमा सांसदहरुले यही विषयमा संसद्मा उपद्रो नै मच्चाए । कृषि क्रान्तिको कुरा गरेर शिक्षा क्षेत्र सुधारमा लागेका पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भैंसीलाई मजाक बनाए सुरुमै । ‘प्रधानमन्त्री भारतबाट आउँदा प्लेन चढेर भर्खरै उद्घाटन गरेको पोखरा विमानस्थलमा ओर्लिनुहुन्छ होला भनेको त भैंसी चढेर आउनुभयो,’ सदनमा आफ्नो भनाइ राख्दै खनालले भने ।
सुन्दा सामान्य लागे पनि यो निकृष्ट व्यंग्य हो । पहाडमा ‘भैंसी चढ्नु’ भन्ने विषय लज्जास्पद नै मानिन्छ । यसैले होला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । मधेस–तराई क्षेत्रमा चरणमा निस्कँदा भैंसी वा राँगामा चढेर गोठालो जाने चलन विद्यमान छ । मधेस–तराई क्षेत्रमा यसलाई सामान्य मानिन्छ ।
सदन खुल्नुअघि मुर्रा जातको राँगो ल्याउने सहमतिलाई मुलधारकै मिडियाले भैंसी भनेर स्थापित गरिसकेको थियो आइतबार । पछि सच्याए पनि हावासरी मजाक बनाएको विषय भैंसी नै कायम भयो । प्रधानमन्त्री दाहाललाई भैंसीमा चढेर आएको देखाउँदै कार्टुनिस्टले कार्टुन बनाए । प्रधानमन्त्री दाहालले रोस्ट्रममै उभिएर भैंसी नै भनिदिए । पछि बल्ल सच्याउँदै प्रधानमन्त्रीले भने, ‘राँगा–राँगा हो । मुर्रा हो मुर्रा ।’
भारतबाट विद्युत्को आयोजना आउँदा खुसी । रेलको योजना आउँदा खुसी । चेकपोस्ट बन्दा खुसी । तर, बजेटमै कृषिलाई प्राथमिकता दिएको विषयलाई भने मजाक बनाएर किन उडाउन लागिपरे सामाजिक सञ्जाल प्रयोगकर्ता ? अनि सामाजिक सञ्जाल प्रयोगकर्ताकै फलो गरेर आशाका रुपमा हेरिएका नयाँ पार्टीको सांसदबाटै यस्तो प्रदर्शन । उन्नत जातको मुर्रा राँगा प्रयोगपछि भैंसीबाट प्रशस्त दूध आउँछ ।
यसले पशुपालक किसानलाई फाइदा दिन्छ । यही कारण सरकारले मुर्रा जातको राँगो यसअघि नै माग गरेको प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमै खुलाए । नेपाल सरकारबाट संस्थागत माग गरिएको यो विषय नेपालीकै हितमा छ । सांसदहरु बढी नै उत्तेजक बन्न थालेपछि सभामुख घिमिरेले जो सुकैले बोलेको भए पनि ‘भैंसी चढेर आएको’ भन्ने वाक्यलाई रेकर्डबाट हटाउन निर्देशन दिए ।
तर संसद्मा यही विषयलाई उडाएर समयको सत्यनाश हुँदा सांसदहरुलाई कस्तो लाग्दो हो ? यस्तो विषयमा न त सत्तापक्षका सांसद संयम देखिए न त सभामुख देवराज घिमिरे नै । के यस्तै हो जननिर्वाचित सांसदहरुको विज्ञता ?
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ११:०३