काठमाडौं - आजको समयमा डिजिटल माध्यमबाट पुस्तक पढ्न सजिलाे भएकाे छ । ई-बुक अर्थात् ईलेक्ट्रोनिक बुकबाट धेरैले पढ्ने गर्दछन् ।
अनलाइनमा खरिद गरेर किताबहरू पढ्न वा सुन्न पनि सकिन्छ । भौतिक किताब भन्दा सस्तो, पढ्न सजिलो भएकाले पाठकको रोजाई पुस्तकको डिजिटल भर्सन हुने गर्छ ।
पछिल्लो समय नेपाली पाठकको जमात अनलाइनमा बढ्दै गएता पनि नेपाली किताबहरू खरिद गरेर पढ्न पाइने प्लेटफर्म नै निकै कम छ । नि:शुल्कमा पढ्न पाइने कतिपय साइटहरू त खुलेर पनि बन्द भइसकेका छन् ।जसले गर्दा पाठकले आफूले खोजेको नेपाली ई-किताब पढ्न ठ्याक्कै पाउँदैनन् ।
तर नेपाली भाषाका ई-किताब नि:शुल्क पढ्न केही प्लेटफर्म छन्, जहाँ नेपाली किताबहरू पढ्न सकिन्छ:
ई–पुस्तकालयले निःशुल्क रुपमा नेपाली पुस्तक पढ्ने सुविधा उपलब्ध गराउँदै आएको छ । उक्त अनलाइन तथा डिजिटल पुस्तकालयमा हजारौंको संख्यामा नेपाली पुस्तकहरु उपलब्ध रहेका छन् ।
पीडीएफमा डाउनलोड गरेर आफ्नो मोबाइल तथा कम्प्युटरमा पढ्न सकिन्छ । यहाँ शैक्षिक पाठ्यक्रमका पुस्तक पनि उपलब्ध छ । साथै यसमा नेपाली साहित्यदेखि विदेशी साहित्यका पुस्तक पनि उपलब्ध छन् ।
विल्सन डटकम डट एनपी
यो एक ब्लगिङ वेबसाइट हो । यसमा केही नेपाली पुस्तकको पीडीएफ उपलब्ध गराइएको छ । डाउनलोड गरेर आफू अनुकूल जुनसुकै बेला पनि अध्ययन गर्न सकिन्छ । यद्यपि यसमा निश्चित किताबहरू मात्र उपलब्ध छन् ।
इन्टरनेट अर्काइभ : नेपाली पुस्तक
यो वेबसाइट इन्टरनेटमा अर्काइभ राख्ने वेबसाइट हो । यो कुनै पनि किताब पसल भने होइन । तर यसमा अर्काइभ नेपाली किताबहरू भने नि: शुल्क रुपमा पढ्न सकिन्छ । यसमा धार्मिक, व्यक्तित्व विकास, साहित्यिक, इतिहास आदि क्षेत्रका पुस्तकहरू पाइन्छन् ।
नेपाल राष्ट्रिय पुस्तकालय
यो वि.सं. २०१३ मा नेपाल सरकारले स्थापना गरेको पुस्तकालय हो । पहिले भौतिक रूपमा मात्र पुस्तक पढ्न पाइन्थ्यो । तर अहिले भने पुस्तकालयले वेबसाइट मार्फत पनि पुस्तकहरू उपलब्ध गराएको छ । यसमा हाल रिसर्च, थेसिस जस्ता सन्दर्भ सामग्री आदि नि:शुल्क पढ्न पाइन्छ ।
यद्यपि पुस्तकालयले भविष्यमा अन्य प्रकारका पुस्तक पनि उपलब्ध गराउनका लागि काम गरिरहेको छ ।