काठमाण्डौं – मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ परेकालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार चोरीको मोटरसाइकलसहित सार्वजनिक गरेको छ । समातिनेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल हराएका एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते आफ्नो मोटरसाइकल हराएको भनी निवेदन दिएका थिए । प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अरु दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ १४:३५