ताप्लेजुङ-प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान केन्द्र खोलिएको छ ।
रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए ।
रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन०ले रेड पाण्डालाई सन् १९९६ देखि सङ्टापन्न जीवको सूचीमा राखेको छ । प्राकृतिक वासस्थानको निरन्तर विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी (शिकारी, डढेलोलगायत कारणले हाब्रेको सङ्ख्या दिनदिनै घटिरहेको छ ।
नेपाल सरकारको पछिल्लो सर्वेक्षणले रेडपाण्डा २३ जिल्लामा पाइने उल्लेख गरेको छ ।
हाब्रे सेन्टर
जिल्लामा अहिले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले उक्त केन्द्र निर्माण गरेका हुन् ।
जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ ।
संरचना निर्माणका लागि वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग गरिएको छ । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रा मुछेर भवन निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । उक्त केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताए।
स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवा प्रवर्द्धन, सदुपयोगसहित पर्यटन प्रवर्द्धन गरी उपभोक्ता समूहको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनको भनाइ थियो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी िदए।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १४:४०