काठमाडाैं - सत्तारूढ नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने भएको छ।
नीति तथा कार्यक्रममा आफूहरूले दिएको सुझाव नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।
आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।‘हामी मात्रै होइन कि कुनै पार्टीका सांसदले दिएका सुझावहरू नीति/कार्यक्रममा समेटिएनन्।
त्यसैले हाम्रो पार्टीका सम्पूर्ण सांसदले बैठक बहिस्कार गर्न लागेका हुन्,’ एक सांसदले भने।सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।
‘१० प्रतिशत कमिसन लिएर अहिले पनि मनोमानी तरिकाले सरकारले विभिन्न शीर्षकका बजेट रकमान्तर गरिरहेको छ। हामी यसको घोर विरोध गर्दछौं,’ ती सांसदले भने।
केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुइटा मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ। गएको जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो। यद्यपि हालसम्म माओवादीले भने मन्त्री फिर्ता बोलाएको छैन।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:३९