काठमाडौं– आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ ।
आयोजक बंगलादेश भलिबल संघले कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको बताइएको छ । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘हाललाई बन्द प्रशिक्षण स्थगित गरेका छौँ, आर्थिक अवस्थाका कारण लामो समयसम्म प्रशिक्षण सञ्चालन गर्न सकिँदैन’, चन्दले भने ।
संघले आइतबारदेखि बन्द प्रशिक्षण हुने जनाएको थियो । संघले उक्त च्याम्पियनशिपका लागि हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा खेलेका १३ खेलाडी तथा अन्य पाँच खेलाडीसहित प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । सेन्ट्रल जोन भलिबलका लागि इम राना (कप्तान), विनोद चन्द, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, धनबहादुर भट्ट, टेकराज अवस्थी, दीपकराज जोशी, ईश्वर थापामगर, विशाल विक, हरि अधिकारी, हरिहजुर थापा, शरण क्षेत्री, दुर्गा खड्का, द्वारिका थापा, राजु शेरचन, दुर्गा महतो, दीपक राज र कुलबहादुर थापालाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०६:२४