महामारीको रूप लियो । जोर्डनबाट खोपको आयात हुँदै छ ।-डा. सम्झनाकुमारी काफ्ले पाण्डे,महानिर्देशक,पशु सेवा विभाग
काठमाडौं– रुपन्देहीको तिलोत्तमा–१४ स्थित पिकुलीगढमा रहेका लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च फार्मका सञ्चालन शशी पौडेल यतिबेला चिन्तामा छन् । नेपालका अधिकांश जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले पौडेललाई चिन्तामा पारेको हो ।
नेपालकै सबैभन्दा ठूलो गाईफार्मका रुपमा चर्चित फार्ममा अहिले ४०० हाराहारीमा गाई छन् । ती गाईलाई जोगाउन अहिले आफू लागिपरेको पौडेलले बताए । ‘अरुतिर ठूलै मात्रमा क्षति गरेको भन्ने सुनेको छु । हाम्रोमा पनि अलिअलि देखिएको छ । गाईमा अलिअलि फोका देखिन थालेका छन् । औषधि छैन भन्ने सुनेको छु,’ पौडेलले प्रभावसँग टेलिफोनमा भने ।
यो रोग लागेपछि सुरुमा पशुमा आलश्यता देखिने र खानमा पनि ध्यान नदिने उनले बताए । यद्यपि, विशेष हेरचाह गरेर पशुलाई ठीक पार्न सकिन्छ कि भनेर आफूहरु प्रयासरत रहेको पौडेलको भनाइ छ । ‘हामीकहाँ भेटनरी डाक्टर हुनुहुन्छ । पशुको विशेष ख्याल गरिराखेका छौ,’ पौडेलले भने । तर हिमालदेखि पहाडसम्म ७१ भन्दा बढी जिल्लामा लाखभन्दा बढी पशुमा यो रोगको लक्षण देखिसकिएको पशु सेवा विभागले जनाएको छ ।
पशु सेवा विभागसँग रोगको यकिन तथ्यांक छैन तर यो रोग ७१ जिल्लामा फैलिसकेको र ५ लाख बढी पशुमा यो संक्रमण फैलिएको छ । यसरी महामारीका रुपमा फैलिँदा पनि राज्य अनुदार बनेको गुनासो पौडेलको रह्यो । ‘त्रास छ । राज्य हरेक क्षेत्रमा अनुदार छ,’ पौडेलले भने ।
गाईमा अलिअलि फोका देखिएको छ । औषधि छैन भन्ने सुनेको छु । त्रास छ । राज्य हरेक क्षेत्रमा अनुदार छ ।-शशी पौडेल,गाई फार्म सञ्चालक
लम्पी स्किन रोग देखिन थालेपछि सांसदहरुले सदनमा यस विषयमा राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । बिहीबारको संसद् बैठकमा सांसद वसन्तकुमार नेम्वाङले तत्काल महामारी नियन्त्रणमा ध्यान दिन आग्रह गरे । ‘एउटा गाईको एक लाख पर्छ । सरकार ध्यान दिँदैन । भर्खरै प्रधानमन्त्रीज्यूको भारत भ्रमणपछि नश्ल सुधारका लागि ल्याएको १५ वटा मुर्रा राँगोको ठूलो चर्चा हुन्छ,’ नेम्वाङले भने, ‘ठूलो उपलब्धि ठानिन्छ । तर, अर्बौं क्षति भएर हजार किसानलाई आघात पुग्दा यो सरकार ध्यान दिँदैन । तत्काल महामारी नियन्त्रणका निम्ति औषधि उपचारको व्यवस्था गरियोस् ।’
कस्तो रोग हो यो ?
‘क्याप्री पक्स’ नामक भाइरस संक्रमणका कारण लम्पी स्किन रोगको प्रकोप देखिन थालेको हो । लम्पी स्किनका रोगको संक्रमणका कारण गाउँदेखि सहरी क्षेत्रका गाईभैंसी मर्न थालेका छन् । सुरुमा ३५ भन्दा बढी जिल्लामा अहिले यो महामारी फैलिएको छ ।
लम्पीका कारण पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुचाउने र दूध कम दिने लक्षण देखिन्छ । चिकित्सकका अनुसार संक्रमण भएका गाईवस्तुको छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्छ भने नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ संक्रमण बढेपछि पशुचौपाया मर्छन् ।
संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ । रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ । लम्पी स्किन रोगको संक्रमण भैंसीको तुलनामा गाईमा बढी देखिने गर्छ ।
यो रोगले दूध उत्पादनमासमेत कमी हुने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशतसम्म उत्पादन घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुपालन किसानको आर्थिक आम्दानीको एक प्रमुख स्रोत हो । पशु चिकित्सक अनन्त कोइरालाका अनुसार लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिन्छ ।
यो रोग केवल गाईभैंसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ । तर, गाईवस्तु बिरामी भएपछि दूध उत्पादनमै कमी आउँछ । अन्य वस्तुमा संक्रमण हुन नदिन यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । तर, सरकारले यो रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न सकेको छैन ।
रोग लाग्न नदिन खोप लगाउन सकिन्छ तर संक्रमित पशुमा खोप लगाउन मिल्दैन ।
के छ सरकारको तयारी ?
पशु सेवा विभागका अनुसार यो महामारीको कुनै प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय हो । विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेका अनुसार यो रोग रोकथामका लागि जोर्डनबाट खोप ल्याउने तयारी हुँदै छ । ‘लम्पी स्किन महामारीको रूप लियो । जोर्डनबाट खोपको आयात हुँदै छ । अरु दुई देशबाट पनि खोप ल्याउने तयारीमा छौं,’ पाण्डेले भनिन् । खोप कतिमात्रमा ल्याउने हो भन्नेबारे उनले खुलाइनन् ।
कसरी सर्छ रोग ?
- संक्रमित लामखुट्टे, टोक्ने झिंगा र किर्नाजस्ता किराहरूको टोकाइबाट ।
-संक्रमित गाईवस्तुहरूको ओसारपसारबाट ।
- सामुदायिक चरन क्षेत्र तथा दाना तथा पानी खाने ठाउँहरूबाट ।
-प्राकृतिक वा कृत्रिम गर्भाधानबाट ।
-पशु उपचार गर्ने क्रममा फरक गाईभैंसीहरूमा एउटै सुइको प्रयोगबाट ।
- कहिलेकाहीँ प्रत्यक्ष सम्पर्कबाट ।
के हो यो रोग ?
- यो रोग गाईभैंसीमा देखिन्छ ।
-यो रोग मानिसलाई सर्दैन ।
- गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिन्छ ।
- दूध उत्पादनमा तीव्र गिरावट आउँदछ ।
-प्रजनन समस्या आउने तथा गर्भपतन हुन सक्दछ । भैंसीको छालाको गुणस्तरमा ह्रास आउँदछ ।
- वजन घट्ने र कहिलेकाहीँ मृत्यु समेत हुन सक्दछ । गाईभैंसीहरूको ओसारपसार तथा व्यापारमा प्रतिबन्ध गर्नुपर्ने हुँदा थप आर्थिक नोक्सानी हुने गर्दछ ।
यस रोगका लक्षणहरु
-उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा माथि), दाना पानी कम खाने र दूध उत्पादन घट्दछ ।
- छालामा १–५ सेन्टिमिटरको साहो गोलो गिर्खाहरू (सामान्यतया सुरुमा टाउको र घाँटीमा) देखिन्छ । लामो रौं भएको गाईभैंसीमा गिर्खाहरू सजिलै -खिँदैनन् । जिउ छाम्दा तथा पानीले भिजेको अवस्थामा मात्र पत्ता लगाउन सकिन्छ ।
-सामान्य संक्रमणमा गिर्खाहरूको संख्या थोरै र गम्भीर संक्रमणहरूमा पूरे शरीर ढाक्ने गरी हुन सक्दछ ।
-गिर्खाहरू केही समय पछि हराउन सक्छन् तर कहिलेकाहीं गिर्खाहरू फुटेर गहिरो घाउ भई किरा तथा झिंगाहरूले (औसा) घाउलाई थप जटिल बनाउन सक्दछन् ।
- थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छन् ।
- आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउछ ।
-र्याल काढ्छ ।
-लिम्फ नोडहरू सुन्निने हुन्छ ।
-केही संक्रमित गाईभैंसीहरूले कुनै पनि लक्षण नदेखाउन सक्छन् ।
रोगको शंका लागेमा के गर्ने ?
-रोगको प्रकोपको समयमा वा जोखिममा रहेका क्षेत्रमा पर्ने गाईभैंसीहरूको दैनिक निरीक्षण गर्नुपर्छ ।
-पशुहरूलाई रोग लागेको शंका भएमा तुरुन्त प्राविधिक, स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा विभाग र अन्तर्गतका निकायमा जानकारी दिने ।
- लम्पी स्किन रोग भएको अवस्थामा रोग देखिएको क्षेत्रबाट पशुहरूको ओसारपसार तुरुन्त रोक्नुपर्छ ।