काठमाडौं — गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आयोजकले जनाएको छ । काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए ।
प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने छ । प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ । यस्तै प्रदेश २ र वाग्मती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ । प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०६:२६