मित्र राष्ट्र भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा टाँस गर्यो । भारतले आफूलाई नेपालको लुम्बिनीदेखि बंगलादेश र पाकिस्तानको भूभाग पनि सो अखण्ड भारतको नयाँ नक्सामा समावेश गरेको छ ।
भारतले नेपालको सीमासमेत आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको केही दिनमै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको जम्बो टोलीले भारतको भ्रमण पनि गर्यो ।
भारतले नयाँ नक्सा सार्वजनिक गरेपश्चात् आफ्नो जमिन नयाँ नक्सामा राखेको भन्दै बंगलादेश र पाकिस्तानले त्यसको विरोध गरे । तर, भारतले नेपालको लुम्बिनी, कपिलवस्तुलाई आफ्नो बनाउँदै नेपाल सरकार एवं राजनीतिक दलहरुले भने मुख खोल्न सकेनन् ।
संघीय संरचनाअनुरुप सबैभन्दा माथिल्लो सरकारका रुपमा रहेको संघीय सरकारले सीमा विवादको कुरा समाधान गर्ने पहल गर्नुपर्ने थियो । मुलुकको भूभाग जर्बजस्ती कब्जा गर्दा पनि संघीय सरकार मौन छ ।
संघीय सरकारले भारतको अखण्ड भारतको नक्सामा नेपालको सीमा राख्दा चुपचाप बसिरहँदा तल्लो तहको सरकारका रुपमा रहेको स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भने अखण्ड भारतको नयाँ नक्सालाई चुनौती दिँदै आफ्नो कार्यकक्षमा सन् १९५० मा भएको सुगौली सन्धी अगाडिको नेपाल अर्थात् ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्न लगाएका छन् ।
स्थानीय सरकारका प्रमुख बालेनको यो कदमले राष्ट्रवादी जनताको मन जित्न सफल भएको छ । सामाजिक सञ्जालमा यतिखेर बालेनले आप्mनो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि निकै नै चर्चा पाएका छन् ।
महानगरपालिकाका प्रमुख बालेनको सचिवालयका अनुसार बालेन अहिले भारतमा पत्नीको उपचार गराइरहेका छन् । आफू भारतमा नै रहेकै अवस्थामा नेपाल सरकार मौन बसिरहँदा भारतलाई चुनौती दिँदै भारतलाई टक्कर दिएर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नु निकै नै साहसिक कदम रहेको छ ।
नेपालको सीमाका बारेमा स्थानीय सरकारलाई अधिकार नहोला तर आफ्नौ राष्ट्रिय स्वाधिनताका लागि राजनीति दल, तिनका नेता र गठबन्धन दलको सरकारसमेत ‘तै चुप मै चुप’ हुँदा बालेनले भने निकै नै महत्वपूर्ण कार्य गरेको विश्लेषण गर्न थालिएको छ ।
भारतले अखण्ड भारतको नक्सा सार्वजनिक गरेलगतै नेपालका तर्फबाट स्थानीय तहको नेतृत्वले चुनौतीका साथ ग्रेटर नेपालको नक्सा सरकारी कार्यालयमा राखेको पहिलोपटक नै हो । यसअघि पनि ग्रेटर नेपालको चर्चा हुने गरेको भएपनि यसरी सरकारी कार्यालयमा नक्सा राख्ने आँट कसैले गरेका थिएनन् ।
भारतको नयाँँ संसद् भवनमा अखण्ड भारत चिनाउने प्रयास गरिरहँदा स्वतन्त्र मेयर बालेनले पनि आम समुदायलाई ग्रेटर नेपाल देखाइदिएका छन् । बालेनले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा उनको बाँकी कार्यकालसम्म रहिरहोस् । सम्पूर्ण नेपालीको साथ पक्का नै रहने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०८:५६